सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ५ सय जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यको पहलमा सर्वाङ्गीण विकास संस्थाले दिएको ५ सय थान न्यानो कपडा शुक्रबार नगरपालिकामा आईपुगेको थियो । उक्त न्यानो कपडा नगरप्रमुख केशवकुमार श्रेष्ठसहितका जनप्रतिनिधिले हस्तान्तरण गरेका हुन् ।

नगरप्रमुख श्रेष्ठले आर्थिक अवस्था कमजोर भएका गरिब, विपन्न परिवारका जेष्ठ नागरिकलाई न्यानो कपडा ‘ब्लाङ्केट’ वितरण गरिएको बताए । बढ्दो जाडोबाट जोगिन वितरण गरिएको न्यानो कपडाले थप सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।
जाडोमा जेष्ठ नागरिकको स्वास्थ्यमा समस्या देखिन सक्ने भन्दै उनले भने, ‘यो मौसममा शरीरलाई न्यानो राखेर तातो झोलिलो खानेकुरा खानुहोला ।’
उनले केही दिनपछि नगरपालिकाले समेत विभिन्न स्थानमा आवश्यकताका आधारमा न्यानो कपडा वितरण गर्ने जानकारी दिए । नगरप्रमुख श्रेष्ठले जेष्ठ नागरिकहरुको लागी चिसो बढी रहेको बेला न्यानो कपडा वितरण गर्नका आवश्यक पहल गरेकोमा मन्त्री आचार्यलाई धन्यवाद समेत दिए ।
न्यानो कपडा पाएपछि जेष्ठ नागरिकहरुले सरकार भएको अनुभूमि भएको भन्दै खुशी व्यक्त गरेका थिए ।








