गृहपृष्ठ खबर २ वटा विधेयक पारित गर्दै बाणगंगा नगरपालिकाको १४औं नगरसभा सम्पन्न

२ वटा विधेयक पारित गर्दै बाणगंगा नगरपालिकाको १४औं नगरसभा सम्पन्न

सागर वि.क., वैखरी अनलाईन ।

दुई वटा महत्वपुर्ण विधेयक पारित गर्दै बाणगंगा नगरपालिकाको १४ औं नगरसभा सम्पन्न भएको छ । उक्त नगरसभा बुधबार नगरपालिकाको आफ्नै सभाहलमा सम्पन्न भएको हो ।

नगरसभाले वन विधेयक ‘२०८०’, बाणगंगा नगर प्रज्ञा प्रतिष्ठान गठन तथा संचालन विधेयक ‘२०८०’ र खानेपानी तथा सरसफाईको क्षेत्रसंग सम्बन्धित सरोकारवालाहरुसंग छलफल गरी तयार पारिएको खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी ऐन, २०७८ (प्रथम संशोधन प्रस्ताव) पारित गरेको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

उक्त विधेयक विधेयक समितिका संयोजक बाबुराम अर्यालले प्रस्तुत गरेका थिए ।

नगरसभाले राजस्व परामर्श समिति संयोजक समेत रहेकी ंनगर उप–प्रमुख रिता कुमारी चौधरीले पेस गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०८० मा संशोधन प्रस्तावलाई पारित गरेको छ । सभामा नगरप्रमुख चक्रपाणी अर्यालले प्रगति विवरण प्रस्तुत गर्दै आर्थिक बर्ष २०८०/०८१ को कुल बजेटको हालसम्म पुँजीगत तर्फ १५ प्रतिशत र प्रशासनतर्फ ३० प्रतिशत खर्च भएको जानकारी दिए ।

नगरपालिकाको कुल बजेट १ अर्ब २३ करोड १३ लाख ३५ हजार ४ सय ३३ रुपैयाँ हो । उनले उक्त बजेटको आम्दानीतर्फ ४१ प्रतिशत तथा खर्चतर्फ २३ प्रतिशत प्रगति भएको बताए । उनले आर्थिक बर्षको अन्त्यमा प्रशासनिक तथा विकासात्मक गतिविधिलाई द्रुतता दिने प्रवृतिलाई न्युनीकरण गर्न आग्रह समेत गरेका छन् ।

वित्तिय जोखिम न्युनीकरणमा नगरपालिकाले ८७ अंक प्राप्त गर्ने अनुमान गरि जिल्ला समन्वय समितिमा पठाएको उनले जानकारी दिए । उनले नगरका ११ वटै वडामा जिपीएस लोकेशनसहित घरको नम्बरिङ्ग गर्ने काम अन्तिम चरणमा पुगेको बताए । उनले नगरको भौतिक, आर्थिक, सामाजिक, वातावरणीय तथा समग्र विकासलाई अनुमानयोग्य बनाउन आवद्यिक योजनामा उल्लेखित स्वीकृत योजना बैंकबाट मात्र कार्य प्रक्रिया अघि बढाउने कामको थालनी गरेको उनको भनाई छ ।

उक्त नगरसभामा पत्रकार कुलराज भुसाललाई नगदसहित सम्मान समेत गरिएको छ ।

नगरप्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा सम्पन्न उक्त नगरसभामा उपप्रमुख रिताकुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, ११ वटै वडाका वडाध्यक्ष, कार्यापालिका सदस्य, कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार