गृहपृष्ठ कपिलवस्तु बिशेष ‘लभ पार्क’ मा एक बर्षमा भित्रिए १ लाख भन्दा बढी पर्यटक

‘लभ पार्क’ मा एक बर्षमा भित्रिए १ लाख भन्दा बढी पर्यटक

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- ५ मा अवस्थित मधौलिया वन उद्यान ‘लभ पार्क’ मा पृथ्वीनारायण शाहको सालिक अनावरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले शुक्रबार नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पृथ्वीनारायण शाहको शालिकसंगै नेपालको नक्सा र राष्ट्रिय झण्डाको अनावरण गर्दै सालिकमा माल्यार्पण गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी अर्यालले पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको बताए ।

उनले ती दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकका रूपमा रहेको उल्लेख गरे ।

उनले तत्कालीन कठिन परिस्थितिमा समेत पृश्वी नारायण शाहले विभिन्न राज्यलाई एकीकरण गर्ने काम सफलता पुर्वक गरेको स्मरण गरे । ‘सबै जातको साँझा फुलबारी । आज हामीले हेर्यौ भने कतै जातका कुरा आउँछन् । कतै धर्मका कुरा आउँछन् । सामाजिक विखण्डनका कुरा आउँछन् । भाईभाईबीचको द्धन्द्धको सिर्जनाको स्थिति छ, मनमुटावको स्थिति छ । यो सबै सद्भाव कायम गर्न उपदेश हामीलाई काम लाग्छ,’ उनले भने । पृथ्वीनारायण शाहको दिव्योपदेशले मुलुकमा सुशासन कायम गर्न थप बल प¥याएको उनको भनाई छ ।

प्रजिअ अर्यालले पृश्वीनारायण शाहको उपदेशअनुसार हिड्न नसक्दाँ नेपाल खाद्यान्नमा आत्मानिर्भर हुन नसकेको बताए । उनले राष्ट्रिय एकता दिवसले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई कायम राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी अर्यालले वनले छोटो अवधिकमै उत्कृष्ट काम गरेको भन्दै प्रशंसा समेत गरे ।

वनका अध्यक्ष खडानन्द गौतमले थत मधौलिया वन उद्यानले स्थापनाको ४ बर्षभित्र आफ्नो छुट्टै परिचय स्थापित गर्न सफल भएको बताए । उनले यसै आर्थिक बर्षभित्र थप ५ सय वटा बहुमूल्य विरुवा वृक्षारोपण गरिएको बताए । उनले पार्कमा दैनिक २५० जना घुम्न आउने गरेको बताउँदै ६ जनालाई प्रत्यक्ष रोजगारी समेत प्रदान गरिएको बताए ।

उनले गत आर्थिक बर्षमा १ लाख भन्दा बढी पर्यटकहरु सशुल्क भित्रिएको जानकारी दिए । प्रवेश शुल्कमार्फत ११ लाख रुपैयाँ र वनभोज गर्न आउने समूहबाट करिब २ लाख रुपैयाँ भित्रिएको उनले जानकारी दिए ।उनले सो क्रममा मधौलिया वन उद्यानको प्रस्तावित कार्ययोजनाहरु समेत प्रस्तुत गरेका थिए ।

उनले यस आर्थिक बर्षमा ढाई लाख पर्यटक भित्राउने योजना समेत रहेको सुनाए ।

उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले पृथ्वीनारायण शाहले अवलम्बन गरेका अर्थतन्त्र, परराष्ट्रलगायत कतिपय नीतिहरू अझपनि सान्दर्भिक रहेको कुरामा जोड दिएका थिए । उनीहरुले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले नेपाल र नेपालीको पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन प्रेरणा प्राप्त होस् भन्दै शुभकामना दिएका थिए ।

सम्बन्धित् समाचार