बाणगंगा ।
बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नगरभित्रका करिव ६२ प्रतिशत घरधुरीमा शुद्ध खानेपानी पुगेको बताएका छन् । खानेपानी तथा सरसफाइ समितिको पहल र नगरको अनुगमनका कारण अहिले खानेपानीमा अशुद्धता नभएको उनको भनाई छ ।
मेयर अर्यालले बुधवार गजेहडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको छैठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । केही खानेपानी संस्थाको व्यवस्थापन पक्षमा थोरै समस्या भएपनि खानेपानी सुरक्षाको हिसाबले अब्बल रहेको उनले बताए । मेयर अर्यालले नगरपालिकाले नगर भित्रका खानेपानीको निरन्तर अनुगमन गरिरहेको भन्दै नगरवासीलाई सुरक्षित पानी पुर्याउन खानेपानी संस्था सङ्ग सहकार्य गरिरहेको बताए ।
नगरवासीलाई शुद्ध, स्वच्छ खानेपानी उपलब्ध गराउन नगर प्रतिवद्ध रहेको उनले जिकीर समेत गरे ।
कपिलवस्तु खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघक्ँ जिल्ला अध्यक्ष राजेन्द्र विक्रम शाहले खानेपानी कुनैपनि प्राणी र बोटबिरुवाको लागि नभै नहुने तत्व भएकाले यसको सुरक्षा र बचावटमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै समितिका अध्यक्ष राज कुमार खाँणले गत आर्थिक वर्षमा गरेका ५० बढी महत्वपूर्ण कार्यहरू प्रस्तुत गरेका थिए । उनले उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै सुरक्षित पानी घरघरमा पुर्याउन प्रतिबद्ध रहेको बताए । बाणगङ्गामा बढ्दै गैरहेको जनसंख्यालाई मध्यनजर गर्दै खानेपानीको क्षमतालाई बिस्तार गर्ने बताए ।
उनले सानो सङ्ख्यामा रहेका उपभोक्ता बाट अहिले १५ सय ५० उपभोक्ताको घरघरमा सुरक्षित पानी पुर्याउन सफल भएको दाबी गरे ।
कार्यक्रममा समितिका सचिव बुद्ध शाहीले सचिवको प्रतिवेदन, कोषाध्यक्ष नमुना पौडेलले आर्थिक वर्ष २०७९/८० आर्थिक प्रतिवेदन, समितिका लेखा समिति सदस्य अर्जुन पोख्रेलले आन्तरिक लेखा प्रतिवेदन, पानी सुरक्षा समितिको प्रतिवेदन संयोजक ध्रुव मल्लले प्रस्तुत गरेका थिए ।








