गृहपृष्ठ Featured सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल खन्न सुरु

सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल खन्न सुरु

काठमाडौँ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबा सुरुङमार्ग निर्माण कार्यले बल्ल गति लिएको छ । २०७५ सालमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले देशका भिन्न ६ स्थानमा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको थियो । उक्त घोषणामा हालसम्म मृत्युमार्गको नामले परिचित बुटवल–पाल्पा सडकखण्ड अन्तर्गतको सिद्धबाबा सुरुङमार्ग समेत प्राथमिकतामा परेको थियो ।

तिनाउ गाउँपालिका २, सिद्धबाबा मन्दिरदेखि पाल्पातर्फ १ हजार १२६ मिटर (१.१२६ किलोमिटर) सुरुङमार्ग निर्माण गर्ने लक्ष्य छ । उक्त परियोजनाले घोषणाको ५ वर्षपछि बल्ल गति लिएको हो ।

२०८० माघ ४ देखि सुरुङमार्गको मुख्य टनेल (सुरुङ) को उत्खननको काम सुरु भएको छ । चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणको ठेक्का पाएकोमा बिहीबार एक सूचना जारी गर्दै नेपालस्थित चिनियाँ दूतावासले औपचारिक रुपमै सुरुङमार्गको काम अघि बढेको जनाएको छ ।

निर्माण कम्पनीलाई बधाई दिँदै दूतावासले भनेको छ, ‘नेपालको पश्चिम सहर बुटवलसँग पाल्पा र पोखरालाई जोड्ने महत्त्वपूर्ण सडक सञ्जालमा सुरुङमार्ग बन्ने चरणमा प्रवेश गरेको छ । सधैँजसो पहिरो झर्ने र बाटो अवरोध हुने खतरापूर्ण सडकको स्तरोन्नति हुँदैछ । सुरुङमार्ग निर्माण पश्चात् स्थानीय आर्थिक विकासमा ठुलो सहयोग पुग्ने विश्वास छ ।’

सम्बन्धित् समाचार