गृहपृष्ठ कपिलवस्तु बिशेष १८ वटा मूर्ति तयार गर्दै सकियो सगरहवा मूर्ति कार्यशाला

१८ वटा मूर्ति तयार गर्दै सकियो सगरहवा मूर्ति कार्यशाला

कपिलवस्तुको ऐतिहासिक, पुरातात्विक स्थल सगरहवामा पुस २३ गते सुरु भएको प्रथम कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सकिएको छ । लुम्बिनी विकास कोष मुख्य आयोजक, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौं, पर्यटन डिभिजन कार्यालय लुम्बिनी प्रदेश रुपन्देहीसहित स्थानीय संघसंस्थाहरुको आयोजनामा भएको १५ दिने कार्यशाला सोमबार समापन गरिएको हो ।

राष्ट्रियस्तरमा ख्याति प्राप्त १५ मूर्तिकार र १५ सहयोगी मूर्तिकारहरुले सगरहवासँग सम्बन्धित विषयमा रहेर १८ वटा मूर्ति तयार पारेका छन् । समापनमा राष्ट्रियसभा सदस्य विमला घिमिरेले लुम्बिनी विकास कोषले कपिलवस्तुको विकासमा बेवास्ता गरेको जनस्तरमा गुनासो भइरहेको बेला सगरहवाको ऐतिहासिकता ढुंगामा कुँदेर सम्बोधन गरेको बताइन् ।

उनले कपिलवस्तु खुला संग्रहालयका रुपमा रहेको तर यहाँको बुद्धकालीन स्थलहरुको प्रचारप्रसार र विकास हुन नसकेको बताइन् ।

प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री विष्णु पन्थीले सगरहवामा स्थानीयहरुको अपनत्वमा कार्यशालामार्फत पर्यटनको निभ शुरु भएको बताए । उनले सगरहवाको ऐतिहासिकता, पुरातात्विक महत्व बुझाउन र जगदीशपुर क्षेत्रलाई पर्यटन प्रवर्द्धनमा कासेढुंगा सावित हुने बताए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कपिलवस्तुमा सञ्चालित मूर्ति कार्यशाला प्राज्ञिक, सांस्कृतिक, प्राविधिक र ऐतिहासिक काम भएको बताए ।

उनले सर्जकहरुले निकै मेहनतका साथ सगरहवाको ऐतिहासिक र यहाँको कथालाई मूर्तिमा उतार्ने काम गरेको बताए ।

कार्यशाला निर्देशक समितिका संयोजक एवम् लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले सगरहवाको पुरातात्विक स्थलको ऐतिहासिकता उजागर गर्न र यहाँको पर्यटन प्रवर्द्धन गर्न जनतासँग मिलेर पहिलो पटक नयाँ मोडेलमा काम गरेको बताए ।

उनले मूर्ति कार्यशालाबाट तयार भएका मूर्तिहरुको दिगो संरक्षण र व्यवस्थापन गर्न स्थानीय समुदायबीच एकता र सहकार्य आवश्यक रहेको बताए ।

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले मूर्ति बन्नेबितिकै पर्यटकहरुको ओइरो लाग्ने नभई कामको शुरुवात भएकाले सबै मिलेर अगाडि बढनुपर्नेमा जोड दिए ।

सम्बन्धित् समाचार