वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.७ ले भिरबाट लडेर मृत्यु भएका भक्त बहादुर घर्ति मगरको परिवारलाई लत्ताकपडा उपलब्ध गराएको छ । वडाध्यक्ष विष्णु गिरीसहितका जनप्रतिनिधिको टोलीले शनिबार उनको घरमै गएर मृतककी श्रीमती २४ बर्षिय श्रीमति लक्ष्मी घर्ति मगर र आमा मेनुका घर्तिलाई खाद्यान्न सामग्रीसहित लत्ता कपडा हस्तान्तरण गरेको हो ।

मोतिपुरडाँडा बस्ने २६ बर्षीय भक्त बहादुर घर्ति मगरको गुल्मीको रिडीमा ज्याला मजदुरी काम गर्दै गर्दा केही दिन अघि मात्र भिरबाट लडेर मृत्यु भएको थियो । मृतक परिवारको घरमा गएर हेर्दा अत्यन्तै दयनीय अवस्था देखेपछि वडाले सहयोग गरेका वडाध्यक्ष गिरीले वैखरीलाई बताए । १/१ वटा सुत्ने खाट, सिरक, गद्दा, तन्ना, सिरानी र १/१ वटा लगाउने ज्याकेटसहित खाद्यान्न सामग्री हस्तान्तरण गरेको उनले जानकारी दिए ।
पानी चुहिने घर, एउटा सुत्ने पलङ्ग समेत नभएको देखेपछि आफुहरुले आवश्यक सहयोग गर्नुपर्छ भन्ने लाएर सहयोग गरेको उनको भनाई छ । उनले वडा दुःखी गरिबको साथ रहेको बताए ।
वडावासीलाई पर्ने हरेक विपतमा आवश्यक साथ सहयोग गर्न आफु प्रतिवद्ध रहेको उनले बताए । वडाध्यक्ष गिरीले केहि समयपछि नागरिक आवास कार्यक्रमा छनोट गरि २ कोठाको घर समेत वडा कार्यालयबाट बनाई दिने निर्णय भएको जानकारी दिए ।








