गृहपृष्ठ Featured मन्त्रालयमै अड्कियो बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यविधि

मन्त्रालयमै अड्कियो बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यविधि

बुटवल ।

बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपको साढे ६ बिघा क्षेत्रफलमा बनेको एक हजार जना क्षमताको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन भएको झन्डै डेढ वर्ष पुगे पनि यसको सञ्चालन कार्यविधि अझै बनिसकेको छैन ।

कार्यविधिकै अभावमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा कठिनाइ भएको छ भने व्यवस्थापनमा लाग्ने खर्च उठाउनसमेत कठिन देखिएको छ ।

सहरी विकास मन्त्रालयको एक अर्ब ११ करोड रुपैयाँको लागतमा निर्माण भएको सम्मेलन केन्द्रको सञ्चालन कार्यविधि अझै निर्माण नहुँदा समस्या भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परियोजनाका प्रमुख इन्जिनियर धर्मेन्द्र पन्थीले बताए । परियोजना कार्यालयका अनुसार यो आर्थिक वर्ष साउनदेखि पुस मसान्तको खर्च र आम्दानी हेर्दा बराबरजस्तै छ ।

साउनदेखि पुससम्म बिजुली, पानी, सुरक्षा गार्ड, सरसफाइ लगायतमा १९ लाख खर्च आएको छ । सम्मेलन केन्द्रले सो अवधिमा १८ लाख ५० हजार रुपैयाँमात्र आम्दानी गरेको छ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले विद्युत् उपभोगबापत नेपाल विद्युत् प्राधिकरणलाई सरदर १ लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । सुरक्षा गार्ड, माली तथा सरसफाइ गर्ने ६ जना कर्मचारीको दैनिक ज्यालादारी खर्च पनि बेहोर्नुपर्ने हुन्छ ।

सम्बन्धित् समाचार