सुर्य प्रसाद भुसाल ,अर्घाखाँची
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले सहकारी ठगी प्रकरणका आरोपित गितेन्द्रबाबु (जीबी) राईलाई पक्रिन नचाहेको आरोप लगाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले सन्धिखर्क टुडिखेलमा आयोजना गरेको खुला सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठले वास्तविक सहकारी पीडितहरुलाई न्याय दिन नचाहेको आरोप लगाए ।
पीडितलाई न्याय दिलाउनुको साटो सरकार आफूलाई फसाउन गल्ती र कमजोरी खोज्न लागेको पनि उनले आरोप लगाए । ‘रवि लामिछानेको केही भेटिन्छ कि खोज्नुहोस् त । यता खोज्नुस् । त्यहाँ खोज्नुस् त केही भेटिन्छ कि भनेर यति समय लगाउनुभयो,’ उनले भने, ‘केही भए पो पाउनु ? भए त किन छोड्थे र ?’
गृहमन्त्रीलाई सहकारी पीडितलाई न्याय दिनुभन्दा पनि आफूलाई दोषी देखाएर थुन्नु परेको उनको आरोप छ । उपप्रधानमन्त्री भइसकेका टोपबहादुर रायमाझीलाई समाउन सक्दा जीबीलाई किन समाउन नसकेको भनि उनले प्रश्न गरे । ‘जीबी राई समाउनतिर लागेको हो र ? रवि लामिछाने भेटिन्छ कि भनेर लागेको हो । समाउन लागे समाउन सक्दैन ? उपप्रधानमन्त्री भइसकेका टोपबहादुर रायमाझीलाई समात्न सक्नुभएको होइन उहाँहरुले ? समाउन खोजेको भए सक्नुहुन्न थियो र ?’ उनले प्रश्न गरे ।








