गृहपृष्ठ Featured प्रतिबन्धित भारतीय माछा भित्राउँने कपिलवस्तुका २ जना रुपन्देहीमा पक्राउ

प्रतिबन्धित भारतीय माछा भित्राउँने कपिलवस्तुका २ जना रुपन्देहीमा पक्राउ

रुपन्देही ।

रुपन्देहीमा धमाधम भारतीय प्रतिबन्धित माछा भित्रिइरहेको छ । माछा उत्पादनका लागि रुपन्देही हब मानिए पनि अवैध बाटोबाट तस्करले मिलेमतोमा माछा भित्र्याउँदा यहाँका किसान मारमा परेका छन् । अर्कातर्फ सस्तोमा मरेका माछा भित्रिँदा किसानले मूल्यसमेत पाउन सकेका छैनन् ।

बुटवल प्रहरीले मङ्गलवार नेपालमा प्रतिबन्धित बैखी जातका माछा बरामद गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका वडा नं ५ हाटबजार लाइनबाट बरामद गरिएको भन्सार छलेर नेपाल भित्राइएको २ हजार केजी माछा बरामद गरी नष्ट गरेको हो ।

विशेष सूचनाका आधारमा हाटबजारको बुटवल सिद्धार्थ क्याम्पस अगाडि शङ्कास्पद अवस्थामा रोकी राखेको लु २ च ३३२९ नंको बोलेरो गाडी चेक जाँच गर्ने क्रममा गाडी भित्र लुकाई छिपाई राखेका अवैध बैखि जातको माछा २ हजार किलो फेला परेको प्रहरीले जनाएको छ ।

अवैध मरेको माछा रितपूर्वक बरामद गरी माछा ओसार पोसार गर्ने कपिलवस्तु कपिलवस्तु नगरपालिका वडा नं १ बस्ने वर्ष २३ को शिव कुमार यादव र बुद्धभूमि नगरपालिका वडा नं २ बस्ने वर्ष ३४ को सजहार पखियालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको बुटवल प्रहरी प्रमुख विजयराज पण्डितले बताए ।

आइस बक्समा राखेर गाडीमा लोड गरी माछा ल्याइएको थियो । चालक र तस्करले कपिलवस्तुबाट माछा ल्याएको भनेर बिल देखाइरहेको डीएसपी पण्डितले जनाएको र यसबारे अनुसन्धान भइरहेको बताए ।

स्रोतका अनुसार कपिलवस्तुको विभिन्न नाकाबाट मरेका भारतीय माछा भित्र्याएर बुटवल ल्याइएको तर तस्करले नेपालको बिल बनाएर प्रहरीबाट माछा फिर्ता लिने प्रपञ्च गरिरहेका छन् ।

सम्बन्धित् समाचार