गृहपृष्ठ कपिलवस्तु बिशेष दोस्रो प्रगतिनगर महोत्सव : ५० हजार दर्शन भित्राउँदै ५० लाखको आर्थिक कारोबार गर्ने लक्ष्य

दोस्रो प्रगतिनगर महोत्सव : ५० हजार दर्शन भित्राउँदै ५० लाखको आर्थिक कारोबार गर्ने लक्ष्य

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ प्रगतिनगरमा दोस्रो प्रगतिनगर कृषि तथा पर्यटन महोत्सव यही माघ २६ गतेदेखि फागुन ७ गतेसम्म हुदैं छ । उक्त महोत्सव प्रगतिनगर सेवा समाज कपिलवस्तुको आयोजनामा हुन लागेको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो ।

मुख्यतः यस क्षेत्रको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउँदै समग्र व्यवसाय विस्तार र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले महोत्सव हुन लागेको महोत्सवका संयोजक समेत रहेका प्रगतिनगर सेवा समाजका अध्यक्ष पुष्पराज अर्यालले बताए । स्थानीय उत्पादन प्रवर्धनका साथै उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने लक्ष्यका साथ महोत्सव हुन लागेको उनको भनाई छ । महोत्सवले औद्योगिक, पर्यटनलगायत कृषिजन्य उत्पादन, प्रवर्धन तथा बजारीकरणमा सघाउ पुग्ने उनले बताए ।

विशेषतःमहोत्सवले शुद्धोधन गाउँपालिकासहित कपिलवस्तु जिल्लाकै व्यवसाय र पर्यटन क्षेत्रको प्रचारप्रसारमा सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे । महोत्सवमा करिब ९० स्टल रहने उनले जानकारी दिए । महोत्सवमा ५० हजार दर्शन भित्राउँदै करिब ५० लाखको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उनले बताए ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीले यसपटकको महोत्सवलाई ऐतिहासिक बनाउने गरि लाग्न अपिल गरेका छन् । उनले महोत्सव शुद्धोधन गाउँपालिकाकै उत्सावका रुपमा स्थापित हुने बताए । यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव संचालन गर्न आवश्यक सहयोग गर्न पालिका तयार रहेको उनले बताए ।

उनले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । कपिलवस्तुसहित अन्य जिल्लामा रहेका उद्यमीको उत्पादनको प्रदर्शन, प्रवर्धनका लागि समेत महोत्सव महत्वपूर्ण सावित हुने उनले बताए ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले महोत्सवलाई मेलाको रुपमा नभएर महोत्सवको रुपमा स्थापित गर्नुपर्ने बताए । उनले पत्रकारिताको क्षेत्रबाट महोत्सवलाई सभ्य र भव्य रुपमा सफल बनाउन पत्रकारहरुलाई सक्रिय भएर लाग्न आग्रह गरे । उनले आगामी बर्षमा यस महोत्सवको नाम नै परिवर्तन गर्न सुझाव समेत दिए ।

यस महोत्सवको नामले समग्र शुद्धोधनलाई नसमेट्ने भएकाले सबैले स्वामित्व ग्रहण गर्न सक्ने नाम शुद्धोधन कृषि तथा पर्यटन महोत्सव हुनुपर्ने उनले तर्क राखे ।

महोत्सवका मिडिया संयोजक भुपाल थापाले महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले गर्ने जानकारी दिएका छन् ।

सम्बन्धित् समाचार