परासी ।
विद्युतको पोल सार्ने काम समयमा नै नहुँदा नारायणगढ-बुटवल सडक खण्ड विस्तारको काम प्रभावित भएको छ । विद्युतको पोल सार्ने जिम्मा चाईना स्टेट कम्पनीको भएपनि उसले दोस्रो कम्पनीलाई पोल सार्ने जिम्मा दिएको छ । तर, समयमा नै रकम भुक्तानी नभएको भन्दै दोस्रो पक्षले पोल सार्न ढिलाई गरेपछि काम प्रभावित बनेको हो ।
सडक विस्तारको म्याद सकिन लाग्दा ठेकेदारले कामलाई केही तीब्रता दिएपनि पश्चिम खण्डमा ५४ प्रतिशत विद्युतका पोल सार्न बाँकी रहेको आयोजनाका पश्चिम खण्डका योजना प्रमुख शंशाक मिश्रले बताए ।
अहिलेको कामको मुख्य चुनौती भएको भन्दै पोल सार्ने काममा सहजीकरण गरिदिन ठेकेदार पक्षले प्रशासनलाई आग्रह गरेको छ । सुनवल, देवदह लगायतका मुख्य बजार क्षेत्रमै पोल सार्न बाँकी हुँदा माटो फिलिङ्गको काममा ढिलाइ भएको छ ।
एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा ४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी २०७५ सालको माघ २४ गते सम्झौता भएको थियो । तर , पाँच वर्ष हुँदा समेत ४५ प्रतिशत मात्र काम भएको छ ।
गत वर्ष थपिएको म्यादको आधारमा २०८१ सालको साउन ६ गतेसम्म आयोजनाको म्याद रहेको छ ।








