बुटवल ।
एकलौटी र अपारदर्शी निर्णय गरेको भन्दै देवदह नगरपालिकाका-७ वटा वडाका वडाध्यक्षले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् ।
सोमबार नेपाली कांग्रेस र राप्रपाबाट निर्वाचित जनप्रतिनिधिले नगर प्रमुख ध्रुवप्रसाद खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
नगरपालिकामा मेयर र प्रशासकीय प्रमुखको मिलेमतोमा अपारदर्शी निर्णय भएको भन्दै वडाध्यक्षहरु विरोधमा उत्रिएका हुन् ।
नगर प्रमुख, उपप्रमुखका नामका योजनामा अपारदर्शी तरिकाले सम्झौता गरी भुक्तानी गरिएको, नगर प्रमुखले आफ्नो कुल मन्दिरमा रकम विनियोजन गर्दा वडाको सहमति नलिएको, वडा नं ८ मा नदीजन्य पदार्थको अवैध चोरी तस्करी गर्ने ट्याक्टर, एक्साभेटरलाई नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा राजश्व नलिई छाडिएको वडाध्यक्षहरुको भनाइ छ ।