वैखरी अनलाईन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका– ४ मा खुल्ला नकआउट फुटवल प्रतियोगिता सुरु भएको छ । युथ एलायन्स फर चेन्जको आयोजनामा प्रतियोगिता आज मंगलबारदेखि सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन पूर्व एसएसपी विक्रम सिंह थापाले गरेका हुन् । सो क्रममा उनले प्रतियोगिताको सफलताको शुभकामना दिदैं खेलाडीहरु देशका गहना भएकाले सबले खेलको सम्मान गर्नुपर्ने बताए ।
उनले खेलले सबैलाई एक ठाउँमा एकताबद्ध गराउने बताए । शारीरिक रुपमा मात्र नभई मानसिक, बौद्धिक, सामाजिक तवरले पनि खेल आफैमा महत्वपूर्ण हुने उनको भनाई छ । यस्ता प्रतियोगितमा खेल्दाखेल्दैं राष्ट्रले निकट भविष्यमा राम्रो खेलाडी पाउने उनले विश्वास व्यक्त गरे ।
उनले युवालाई खेलतर्फ प्रोत्साहित गर्न स्थानीयदेखि केन्द्र सरकारले विशेष योजना ल्याउन आवश्यक रहेको बताए । युवाहरु विदेशीने क्रम बढ्दै जानु देशको लागी दर्भाग्यपूर्ण र गम्भिर चिन्ताको विषय भएको बताउँदै उनले भने, ‘अब युवाहरुलाई देशमै केही गर्ने, यही टिक्ने वातावरण सिर्जना गर्नुपर्छ ।’
बुद्धभूमि नगरपालिका वडा नं.४ का वडाध्यक्ष सुसिल कुमार चौधरी, राष्ट्रिय डोरीतान संघका केन्द्रिय सचिव मिनराज बेल्वासे लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिदैं खेलाडीहरु व्यवसायिकतातर्फ उन्मुख हुनुपर्ने बताएका थिए । खेल केवश खेल्न, मनोरञ्जनका लागी मात्र नभएर आर्थिक उपाआर्जनमा जोड्न आवश्यक रहेको उनीहरुको भनाई थियो ।
युथ एलायन्स फर चेन्जका अध्यक्ष ईश्वरी प्रसाद भूसालको अध्यक्षतामा भएको उक्त उद्घाटन सत्रको कार्यक्रम सचिव लेखनाथ खनालले संचालन गरेको थिए ।
यस्तै उद्घाटन खेलमा आज रोयल गोरुसिंगेलाई हराउँदै बनगाई फुटबल क्लब विजयी भएको आयोजक संस्थाका प्रतिनिधि प्रेम सेन ठकुरीले जानकारी दिए । उनका अनुसार बनगाई ५-२ को गोलअन्तरले विजयी भएको हो ।
प्रतियोगिताको विजेता टोलीले नगद रु.५० हजार, द्धितीय हुनेले नगद रु.२५ हजार र तृतीय हुनेले नगद रु.१० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।