बुटवल ।
बुटवलमा करिब एक दर्जन संघसंस्थाले सरकारी जग्गा कब्जा गर्ने उद्देश्यले राखेका साइनबोर्ड हटाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एक सूचना जारी गरी जग्गा कब्जा गर्ने उद्देश्यले साइनबोर्ड राखिएको विषयप्रति ध्यानाकर्षण भएको जनाएका छन् । त्यस्तै उक्त जग्गा संरक्षण गर्न र सरकारी जग्गा हो भन्ने स्पष्ट हुने गरी अर्को साइनबोर्ड राख्न बुटवल उपमहानगरपालिका र वडा कार्यालयलाई आग्रह गरेका छन् ।
बुटवल उपमहानगरपालिका-१७ रानीगन्जमा रहेको नदी उकास क्षेत्रमा भवन र अन्य प्रयोजनका लागि भन्दै विभिन्न संघसंस्थाले दुई हप्ताअघि अनधिकृत ढंगले सूचना पाटी ‘बोर्ड’ राखेका थिए । उक्त विषयमा अनलाइनखबरमा समाचार प्रकाशित भएको थियो ।
सशस्त्र प्रहरी बलको सुरक्षा पोस्टको सामुन्ने खुद्रा किराना व्यवसायी संघ, नेपाल हाप्किडो संघ, थारु कल्याणकारिणी सभा, भिन्धो नेवा समाज, एकल महिला समूह, ब्राह्मण समाज र नाम नखुलेको संस्थाको छात्रावास भवन निर्माण प्रयोजन लेखिएको बोर्डहरु गाडिएका छन् ।
यस्तै जनआत्मा निर्भरता विकास समूह नामको एनजीओ,शान्तिदीप खानेपानी, मगर महिला समूह, कुमाल समाज, जेष्ठ नागरिक मिलन केन्द्रले पनि भवन बनाउने भन्दै बोर्ड गाडेका छन् । कतिपय संस्थाले भवन निर्माण सुरु गरेका छन् । उनीहरुले २ कठ्ठादेखि ५ कठ्ठासम्म गरी दुई बिघा बढी सरकारी जग्गा हडप्न बोर्डहरु गाडेका छन् ।
प्रमुख जिल्ला अधिकारी अर्यालले बुधबार सूचना जारी गर्दै सरकारी जग्गा आफूखुशी कब्जा गर्न खोज्नु कानूनत: दण्डनीय भएकाले गाडिएका बोर्ड हटाई उक्त जग्गा सार्जजनिक रहेको ब्यहोरा जनिने बोर्ड राख्न निर्देशन दिएका छन् ।