रुपन्देही ।
गुल्मीका युवा विनोद कुँवरले अष्ट्रेलियामा गरेको कमाइबाट रुपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको पहिलो चरणको संरचना फागुन २८ गते उद्घाटन गरेर खेल सञ्चालन गर्ने भएको हो ।
फागुन १४ गते नै उद्घाटन गर्ने भनिएकोमा क्रिकेट खेलाडीहरुको तालिका नमिलेपछि २ साता धकेलिएको रंगशाला निर्माणकर्ता कुँवरले बताए । उनका अनुसार गएको जेठ ३० गते शिलान्यास भएको रंगशालामा उद्घाटनको दिन लिजेण्ड्स कप क्रिकेट आयोजना गर्ने तयारी रहेको एक्स्ट्राटेक ओभलका निर्देशक कुँवरले जानकारी दिए ।
हाल अष्ट्रेलियामा बस्दै आएका कुँवरले आफ्नी श्रीमती सदीक्षाको सहयोगमा तिलोत्तमा नगरपालिका- १७ मा ४० करोड रूपैयाँभन्दा बढी लगानीमा एक्स्ट्राटेक ओभल रंगशाला निर्माण गरेका हुन् । रंगशाला खेल्न तयार भए पनि अझै भौतिक निर्माण बाँकी रहेको कुँवरले बताए ।








