कास्की ।
पोखरा महानगरपालिका–३० खुदीका ६४ वर्षीय वासुदेव लामिछानेलाई छोरीको कलेजोले नयाँ जीवन दिएको छ ।
कमजोर आर्थिक अवस्थाका कारण छिमेकी मुलुक गएर उपचार गर्न उनको अवस्था थिएन । परिवारकै सदस्यबाट प्रत्यारोपण गर्नुपर्ने र यसबाट खर्चसमेत कम हुने भएकाले उनले परिवारसँग सल्लाह गरे । तीन छोरी र दुई छोराका बाबु लामिछानेको कलेजो प्रत्यारोपणका लागि परिवारमा छोरा–बुहारीसँग रक्त समूह मिलेन । रोगले दिनानुदिन च्याप्दै जानु र प्रत्यारोपणका लागि उपयुक्त व्यक्ति नपाउँदा लामिछानेले जीवनको आश मारिसकेका थिए ।
साहसपूर्वक आफ्नो कलेजो दिएर बुबालाई नयाँ जीवन दिन रञ्जना तयार भएपछि लामिछानेको गत आइतबार भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ । कलेजो रोगका कारण थलिएर जीवनमरणको दोसाँधमा उभिनुभएका लामिछानले छोरीले कलेजो दिएपछि पुनर्जीवन पाएकी थिइन् । छोरी रञ्जनाले आफ्नो कलेजो दिन तयार भएको र अहिले बाबुछोरी दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको छोरा सुशीलले बताए ।








