गृहपृष्ठ Featured गगन थापाले भने- सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ

गगन थापाले भने- सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ

नेपाल कांग्रेसका सभापति गगनकुमार थापाले सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र रहेको बताएका छन् ।शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई संबोधन गर्दै सभापति थापाले आफ्नो पार्टीभित्रको आन्तरिक विवाद मात्र होइन, राष्ट्रिय मुद्दामा अन्य दललाई समेत मिलाएर अगाडि बढ्ने तागत रहेको बताएका हुन् ।

उनले यही कारणले पनि कांग्रेसलाई भोट नहाल्ने कुनै कारण नभएको बताए । उनले उम्मेदवारसँगै कांग्रेस नेता कार्यकर्ताहरूलाई निर्देशन दिँदै भने, ‘कांग्रेसलाई भोट नहाल्ने कुनै कारण छैन, घर घरमा गएर रुखमा मतदान गरेर कांग्रेसलाई जिताउँ भनेर आग्रह गर्नुहोस् ।’

सभापति थापाले अगाडि भने, ‘किसानका खेतमा मल पुर्‍याउनेदेखि पहाडका बाँदर धपाउनेसम्म टिम बनाएर अध्ययन गरेर जनताका माझ मत माग्न आएको हुँ । सामाजिक सञ्जालमा अड्केर नबस्नुहोस् घर–घरमा जानुहोस् । हाम्रो बारेमा सबै कुरा गर्नुहोस् ।

यो क्षेत्रका उम्मेदवारका लागि आफूले मिहिनेत गरेर केही नहुने भन्दै सभापति थापाले भने, ‘यस क्षेत्रका उम्मेदवार सबैलाई आ–आफ्नो क्षेत्रमा दिनरात मिहिनेत गरेका छन् । उम्मेदवारले मिहिनेत गरेर म गगन थापा भएर तपाईंसँग भोट माग्न आग्रह गरेको छ । पाँच वर्षलाई रुखलाई भोट दिनुहोस् देश हामी बनाउँछौँ ।’

थापाले नवयुवासँग कुरा गर्दा सुरुमा उनीहरूले गाली गर्न सक्नेतर्फ पनि स्मरण गराए । उनले पार्टीका नेता–कार्यकर्ताहरूसँग रिसाएका नवयुवालाई पार्टीका बारेमा सम्झाउन पनि आग्रह गरे ।

‘उनीहरूले पहिला दुई लाइन गाली गर्लान् । उनीहरूसँग राम्रोसँग संवाद गर्नुस्,’ सभापति थापाले भने, ‘उनीहरूलाई बताउनुस्, भन्नुस् यो कांग्रेस अधिवेशनबाट एउटा संकल्प गरेर आएको छ ’ ।

सभापति थापाले उत्तेजनाको राजनीतिमा धेरै नबहकिन पनि आग्रह गरेका छन् । ‘हामी उत्तेजनाको राजनीतिमा धेरै नबहकिऊँ । यो टेलिफोनले धेरैलाई झुक्याएको छ,’ उनले भने, ‘बेलुका घर गएर हेर्दाखेरि तपाईंले हेरेको युट्युबले, तपाईंले हेरेको फेसबुकले धेरैलाई झुक्याएको छ । धेरै भ्रममा नपरौँ ।’

सम्बन्धित् समाचार