गृहपृष्ठ Featured लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा एक खर्बको परियोजना सञ्चालन गर्दै

लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा एक खर्बको परियोजना सञ्चालन गर्दै

रुपन्देही ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक पूर्वाधार निर्माण गर्न करिब १ खर्बको परियोजना सञ्चालन गर्ने भएको छ । जसअनुसार देवदहमा विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक भवनको सोमबार उद्घाटन समेत गरिएको छ ।

भवन उद्घाटन गर्दै पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालय विश्वकै आकर्षणको केन्द्र बन्ने बताए ।

बौद्ध दर्शनको प्राध्यापन बुद्ध जन्मेकै स्थानमा गर्न पाउनु विश्वका अध्येताका लागि महत्वपूर्ण रहेको भन्दै उनले यसको प्राज्ञिक विकासमा सरकारको विशेष भूमिका हुनुपर्ने बताए ।

विश्वविद्यालयको प्राज्ञिक विकासका लागि देवदहमा सुरु हुने एक खर्बको परियोजना सम्पन्न गर्ने दायित्व सबैको रहेको उनले उल्लेख गरे ।

पूर्वमन्त्री एवं सांसद छविलाल देवदह शैक्षिकग्रामका रुपमा स्थापित हुने र विश्वविद्यालयको भौतिक निर्माण सम्पन्न हुँदा अनतर्राष्ट्यि आकर्षणको केन्द्र बन्ने बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले देवदहमा २० हजार विद्यार्थीले अध्ययन गर्न मिल्नेगरी सुविधा सम्पन्न संरचना निर्माण हुने बताए ।

‘हामीले ५० करोडको लागतमा गुरुयोजना बनाएका छौं, अब यसैअनुरुपका पूर्वाधार निर्माण हुनेछन्’, उनले भने ।

विश्वविद्यालयको देवदह शैक्षिक केन्द्रमा १६ हजार विदेशी र ४ हजार नेपाली विद्यार्थीले अध्ययन गर्ने उपकुलपति बज्राचार्यले बताए ।

विश्वविद्यालयका रजिष्टर डा. तिलकराम आचार्यले लुम्बिनी, देवदह र बुटवललाई तीन शैक्षिक केन्द्रका रुपमा विकास गर्नेगरी विश्वविद्यालयले योजना बनाएको बताए ।

देवदहमा ९२ विगाहा जमिन प्राप्त गर्न ६ वर्ष संघर्ष गरेको स्मरण गर्दै उनले देवदहबासीबीच गरिएका पूर्वाधार निर्माणका प्रतिबद्धता पूरा गर्दै लगिने बताए ।

विश्वविद्यालयले देवदहमा ९ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भवन, अस्पताल, प्राथमिक तथा आधारभूत विद्यालय, छात्रावास, शिक्षक तथा कर्मचारी आवास केन्द्र, अनुसन्धान केन्द्र, संग्रहालय, गेष्ट हाउस भिल्लासहितका संरचना बनाउनेछ । रंगशालासहित पर्यटकीय आकर्षण गर्ने संरचना बौद्ध संस्कृति झल्किने शैलीमा बन्ने गरी डिजाइन गरिएको छ ।

सम्बन्धित् समाचार