गृहपृष्ठ कपिलवस्तु बिशेष आर्मीलाई पेनाल्टी सुटआउटमा हराउँदै सुदूरपश्चिम सेमिफाईनलमा

आर्मीलाई पेनाल्टी सुटआउटमा हराउँदै सुदूरपश्चिम सेमिफाईनलमा

सागर वि.क., वैखरी अनलाईन ।

सुदूरपश्चिम–११ प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । कपिलवस्तुको चारनम्बर जीतपुरअवस्थित बुद्ध रंगशालामा मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लवलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै सुदुरपश्चिम- ११ सेमिफाईनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट टुङ्गो लागेको हो । सुदूरपश्चिमसंग पराजित भएसंगै त्रिभुवन आर्मी प्रतियोगिताबाटै बाहिरिएको छ ।

सुदुरपश्चिमका लागी अविनाश थापा, धिरेन्द्र शाह, विष्णु चौधरी र बुद्धदेव शाहीले गोल गर्न सफल भए । आर्मीका लागी दिल लामा, मान बहादुर आलेमगर र ओम प्रकाश रोकाले मात्र गोल गरे भने जीवन कुमार र सन्तोष केसीले गोल गर्न सकेनन् । पेनाल्टी सुटआउट प्रहार गर्न सुरुमै आएका आर्मीका सन्तोष केसी र सुदुरपश्चिमका फागुराम थारु दुबै गोल गर्न चुके।

सुदुरपश्चिमका लागी गोल रक्षक दिपक बोहोरा नायक बने । उनी नै ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले ट्रफ्रीसहित १० हजार प्राप्त गरे । सुदूरपश्चिम सेमिफाईनलमा हनामी विएफसी चितवनसंग विहिबार भिड्ने छ ।

बुधबार सेमिफाईनलको पहिलो खेल थ्री स्टार र क्लव र नेपाल पुलिस क्लवबीच हुने आयोजक संस्था जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले जानकारी दिए ।

प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

सम्बन्धित् समाचार