सागर वि.क., वैखरी अनलाईन ।
थ्रीस्टार क्लवलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लव प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।
कपिलवस्तुको चारनम्बर जीतपुरअवस्थित बुद्ध रंगशालामा बुधबार भएको सेमिफाइनल खेलमा थ्रीस्टार क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस फाईनलमा पुगेको हो । खेलको ५१ औं मिनेटमा विवेक पाण्डेले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । थ्रीस्टारले गोल गर्न नसकेपछि अन्ततः विवेकले गरेको गोल नै पुलिसको जीतका लागी पर्याप्त हुन पुग्यो । विवेक नै ‘म्यान अफ दि म्याच’ भए । उनले ट्रफीसहित १० हजार प्राप्त गरे ।
पुलिसले क्वाटरफाईनलमा साहारा क्लव पोखरालाई हराएको थियो ।
थ्रीस्टार कपिलवस्तु –११ लाई उद्घाटन खेलमा ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा पुगेको थियो ।
फाईनलमा पुलिसले उपाधिका लागी विहिबार हुने सेमिफाईनल खेलको विजेतासंग भिड्ने छ ।
प्रतियोगिताको दोस्रो सेमिफाईनल भोलि विहिबार सुदूरपश्चिम- ११ र हनामी विएफसी चिवतनबीचको हुदैं छ ।
सुदूरपश्चिमले क्वाटरफाईनलमा आर्मीलाई टाई ब्रेकरमा हराएको थियो भने हनामीले मछिन्द्रलाई सड्न डेथमा हराएको थियो । प्रतियोगिताको फाईनल खेल यही चैत्र २४ गते शनिबार हुने आयोजक संस्था जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले जानकारी दिए ।
प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।








