रूपन्देही ।
लुम्बिनी प्रदेशमा एक वर्ष नपुग्दै नेपाली कांग्रेस नेतृत्वको सरकार संकटमा परेको छ । मुख्यमन्त्री डिल्ली चौधरीले अल्पमतमा परेको एक महिनामा आज सदन फेस गर्ने भएका छन् ।
अहिलेसम्मको गणितमा उनले बहुमत कायम राख्न सक्ने अवस्था देखिदैन । चौधरीले आजै विश्वासको मत लिने तयारी सहित प्रदेश सभाको कार्यसूची रहेपनि सदनमा सम्बोधन गरेर राजीनामा दिने आंकलन गरिएको छ ।
यो विषयमा निर्णय गर्न दिउसो १ बजे दलको बैठक बोलाइएको छ । कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बहुमत पुग्ने आधारमा मात्रै विश्वासको मतमा जाने नभए नजाने अवस्था हुनसक्ने तर यसको कुनै निर्णय नभएको बताए ।
नागरिक उन्मुक्ति पार्टीभित्र विवाद छ । उसले समर्थन नगरेको अवस्थामा नयाँ गठबन्धनलाई बहुमतका लागि १ सांसद चाहिन्छन् । विपक्षी मोर्चामा कांग्रेस २७, राप्रपा चार, जनमत तीन, लोसपा तीन, जनमोर्चाको एक सीट रहेको छ । बिहीबार नै एमाले, माओवादी, जसपा, नाउपा, राप्रपासहितका दलहरूले संसदीय दलको बैठक बोलाएका छन् ।
माओवादीले दलका नेता जोखबहादुर महराको नेतृत्वमा सरकार बनाउन तयारी गरेको जनाएको छ । प्रदेश अध्यक्ष सुदर्शन बरालले गठबन्धनमा रहेका र बाहिर रहेका दलहरूको समेत हस्ताक्षरमा दावी पेश गर्ने तयारीमा रहेको बताए ।








