अर्घाखाँची ।
नयाँ वर्षको दिन धार्मिक तथा पर्यटकीयस्थल सुपा देउरालीमा धार्मिक पर्यटकको घुइँचो लागेको छ। मनले मागेको मनोकामना पूरा हुने विश्वासका साथ नेपाल तथा भारतका विभिन्न भागबाट दर्शनार्थीको घुइँचो लागेको सुपा देउराली मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताए।
उक्त मन्दिर समुद्र सतहबाट करिब चार हजार पाँच सय फिटको उचाइमा रहेको छ। सुपा देउरालीमा जे माग्यो त्यही पूरा हुने धार्मिक विश्वास रहँदै आएको अध्यक्ष केसीले बताए। उनका अनुसार आजको दिन तराईका विभिन्न जिल्लाबाट गर्मी छल्न तथा नयाँ वर्षमा सपरिवार रमाइलो गर्न मन्दिर र नरपानी क्षेत्रमा आएका हुन्।
पूर्व–पश्चिम राजमार्गबाट अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत ४७ किलोमिटर दूरीमा महाभारत पर्वत शृङ्खलाको ठूला–ठूला पहाडको खोचमा प्राचीन शैलीमा उक्त मन्दिर निर्माण गरिएको छ।
मन्दिर क्षेत्रमा निर्माण भएका भवनहरूको स्वरूप एकै खालको कायम गर्ने, मन्दिर क्षेत्रमा पार्किङ, पार्क तथा धर्मशाला निर्माण, खाँचीकोटको विकास, मसिनाको लेकमा पर्यटक पुर्याउन आवश्यक पूर्वाधार विकासलगायत विषयमा गुरुयोजना बनाएर काम अघि बढेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिए।