गृहपृष्ठ Featured आज मिथिला क्षेत्रमा श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै

आज मिथिला क्षेत्रमा श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै

प्रकाशित मिति:

महोत्तरी ।

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ ।  चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् ।

यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी तिथिमा ‘खरना’ विधि सम्पन्न गरी सकेका छन् । ‘खरना’ का दिन दिनभरि निराहार व्रत रही राति सख्खरमा पकाइएको खिर इष्टदेवलाई चढाएर व्रर्तालुले खान्छन् । ‘नहाय–खाय’ विधिकै दिन व्रतालुले व्रत सङ्कल्प गर्ने चलन छ ।

व्रतालुले षष्टी तिथिका दिन निराहार व्रत रही साँझ पवित्र जलाशयमा बनाइएको घाटमा अस्ताउँदा सूर्यलाई पहिलो अर्घ दिने परम्परा छ । यस क्रममा फलफूल र ठकुवा (गहुँको पिठोबाट बनाइएको मिष्टान्न परिकार), भुसुवा (कसार) र अन्य परिकार राखिएको डाला उठाई सूर्यदेवलाई देखाइन्छ । कम्मरसम्म पानीमा चोबलिएर सूर्यलाई अघ्र्य दिने यो विधिलाई मिथिलामा ‘सझुका अरख’ भनिन्छ । अब भोलि सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई यिनै प्रसाद सामग्री देखाएर अघ्र्य दिई व्रतालुले व्रत समापन गर्नेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ ।

शरद् र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद् ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ । यद्यपि शारदीय छठ जति यो पर्व मनाउने भने देखिँदैनन् । भोलि सप्तमीका दिन बिहान घाटमै उदाउँदा सूर्यलाई भोरका अरख दिएपछि यो पर्व समापन हुन्छ ।

सम्बन्धित् समाचार