गृहपृष्ठ खबर बाणगंगामा वैशाख १६ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन सुरु गरिने

बाणगंगामा वैशाख १६ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन सुरु गरिने

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा यही वैशाख १६ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरिने भएको छ । कपिलवस्तु जिल्लामा १६ औं पटक हात्तीपाइले रोगविरुद्धको अभियान संचालन गरिदैं छ । सोही अभियान अन्तर्गत वैशाख १६ गतेदेखि १० दिनसम्म अभियान चलाईने बाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए । उनले आवश्यक पारे अभियानलाई केही दिन लम्बाउन सकिने बताए ।


शाखा प्रमुख पौडेलले हात्ती पाईले रोग निवारण अभियानबारे नगरपालिका सोमबार भएको नगरस्तरिय अभिमुखिकरण कार्यक्रममा सो बारे जानकारी गराएका हुन् । उनले बाणगंगामा ७२ हजार जनसंख्यालाई औषधी खुवाउने लक्ष्य रहेको समेत जानकारी दिए । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम्सेवीका, टोल विकास समिति, सुरक्षा निकाय, पत्रकार लगायत सरोकारवाला सम्पुर्ण निकायको सहभागिता अभियान सफल बनाईने उनले बताए । उनले सो क्रममा समाजका प्रतिष्ठित व्यक्तिहरुले नै औषधी सेवन नगरेकोमा दुखेसो पाखे । यसले आमजनमानसमा नसकारात्मक सन्देश प्रवाह हुने बताए ।


नगर प्रमुख चक्रपाणी अर्यालले विगत १५ बर्षदेखि औषधी खादाँ पनि कपिलवस्तु जिल्ला हात्ती पाईले मुक्त जिल्ला नहुनु आफैमा लज्जास्पद विषय भएको बताए । उनले यो पटक जसरी भए पनि कपिलवसतुलाई यस अभियानमा सफल बनाउन आवश्यक रहेको बताए । उनले हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने बताउँदै उनले भने, ‘शरीरमा हात्तीपाइलेको परजीवी रहेछ भने औषधिले मार्दछ र हात्तीपाइलेका कारण शारीरिक अपाङ्गता हुँदैन, यसमा ढुक्क हुनुस् । त्यसैले यो औषधी खान सबैलाई अपिल गर्दछु ।’


उनले स्वास्थ्य शिविर गर्दा मान्छेको ओईरो नै लाग्ने गरेको तर हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानमा औषधी खुवाउनै सकस पर्ने गरेको बताए ।

उपप्रमुख रिता कुमारी चौधरीले औषधी सेवन गर्दा अन्य कुनै पनि नकारात्मक असर नगर्ने भन्दै नगरवासीलाई अभियानमा सरिक भई औषधी खान अपिल गरिन् । उनले औषधी प्रतिको नकारात्मक भ्रमलाई चिर्न आवश्यक रहेको बताईन् । उनले सामाजिक जागरण न्युन हुँदा पनि औषधी खान नमान्ने गरेको बताईन् ।

कार्यक्रममा प्रमुख प्रशासकिय भक्तिराम मरासिनी, वडा नं.७ का वडाध्यक्ष विष्णु गिरी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरी, जनता मावि पिपराका रमेश पन्थी, पत्रकार बाबुराम रायमाझि लगायतले प्रतिनिधिमूलक रुपमा बोल्दै अभियानलाई सफल बनाउन आआफ्नो स्थानबाट लाग्न आवश्यक रहेको भन्दै सबैलाई अनिवार्य रुपमा औषधी सेवनको लागी अपिल समेत गरेका थिए । उनीहरुले सर्वप्रथम हात्तीपाइले रोगविरुद्धको औषधिबारे आमजनतामा धेरै भ्रमहरु रहेको भन्दै ती भ्रमहरुको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको संचालन स्वास्थ्य अधिकृत भक्तिराम पाण्डेले गरेका थिए ।

सरकारले हात्तीपाइले रोगविरुद्धको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ भने सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित् समाचार