रूपन्देही ।
लुम्बिनी प्रदेशका ६ विषयगत र १ विशेषाधिकार गरी ७ वटा समितिका सभापति निर्विरोध भएका छन् । मंगलबार संसद सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार एकएक जनाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।
लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश मामिला तथा कानून समिति सभापतिमा रुकुम पूर्वकी दिलकुमारी बुढा, सामाजिक विकास समितिको सभापतिमा गुल्मीका यमबहादुर नेपाली, कृषि, वन तथा वातावरण समितिको सभापतिमा नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (१) का विश्वप्रेम पाठक र भौतिक पूर्वाधार विकास समितिको सभापतिमा अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ (२) का रामजीप्रसाद घिमिरे निर्विरोध भएका हुन् ।
पुनका अनुसार ६ वटा विषयगत समिति भए पनि दलहरुले छलफल गरी विशेषाधिकार समितिको माग भएकाले यस पटकदेखि नयाँ व्यवस्था गरिएको छ ।
लामो समयदेखि चयन हुन नसकेको लुम्बिनी प्रदेशका विषयगत समितिका बारेमा दलहरुबीच एमालेले विषेशाधिकारसहित ३ वटा समिति, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २ वटा समिति र माओवादी केन्द्रले २ वटा समितिको नेतृत्व गर्ने सहमति गरेका थिए ।
गत असार ३० को लुम्बिनी प्रदेशसभा बैठकले समितिमा रहने सदस्यहरुको टुंगो लगाए पनि समितिको सभापतिको टुंगो भने १७ महिनासम्म लाग्न सकेको थिएन । २०७९ मंसिर ४ गते निर्वाचन भएपछि ३ जना मुख्यमन्त्री फेरिँदा पनि मिनी संसदको रुपमा हेरिने विषयगत समितिको नेतृत्व चयन हुन नसक्दा प्रदेशसभा विजिनेसविहीन जस्तै थियो ।