देउखुरी ।
सत्ता गठबन्धन दलबीच भागबन्डा मिलाउन लुम्बिनीमा मुख्यमन्त्री कार्यालयसहित १२ वटा मन्त्रालय बनाइएको छ । मुख्यमन्त्री जोखबहादुर महराले गत बिहीबार ७ जनालाई बिनाविभागीय मन्त्रीमा नियुक्त गर्दा ११ मन्त्रालय थिए । उनीहरूलाई जिम्मेवारी तोक्ने क्रममा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या १२ पुर्याएको हो ।
यसअघि कांग्रेसका डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारमा १० मन्त्रालयमा ८ मन्त्री थिए । बुधबारको मन्त्रिपरिषद् बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय थपेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एकीकृत समाजवादीकी भगवती अधिकारीलाई जिम्मा दिइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मुख्यमन्त्री महराले आफैं राखेका छन् । स्रोतका अनुसार भागबन्डा अनुसार माओवादीले पाउनुपर्ने थप एक मन्त्रालय बाँकी छ । ऊर्जा मन्त्रालय माओवादीमै रहनेछ । गठबन्धनमा भागबन्डा गर्दा माओवादीलाई मुख्यमन्त्रीसहित ३ मन्त्रालय परेका थिए । माओवादीले अहिले मुख्यमन्त्रीसहित दुई मन्त्रालय पाएको छ ।
चैत २५ मा बिनाविभागीय मन्त्रीमा नियुक्त भई गत बिहीबार कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएका जनता समाजवादी संसदीय दलका नेता भण्डारीलाल अहिरले आइतबार पदभार ग्रहण नगरीकनै मन्त्री पदबाट राजीनामा दिएका थिए । मन्त्रीको लिस्टमा उनको नाम पनि यथावत् छ । मुख्यमन्त्री महराले अहिरको राजीनामा स्वीकृत गरेका छैनन् ।








