गृहपृष्ठ Featured गुजरातमाथि बेंगलोरको शानदार जित

गुजरातमाथि बेंगलोरको शानदार जित

काठमाडौं ।

युवा ब्याटर विल ज्याक्सको आक्रामक शतकमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गुजरात टाइटन्समाथि ९ विकेटको शानदार जित हात पारेको छ । २०१ रनको लक्ष्य बेंगलोरले १६ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

बेंगलोरको जितमा विल ज्याक्स ४१ बलमा ५ चौका र १० छक्कासहित १०० रनमा नट आउट रहे । १६ औं ओभरमा राशिद खानलाई चार छक्का र एक चौकासहित कुल २९ रन जोड्दै ज्याक्सले शतक पूरा गरेका थिए । आईपीएलमा उनको यो पहिलो शतक हो ।

विराट कोहली ४४ बलमा ६ चौका र ३ छक्कासहित ७० रनमा नट आउट रहे । दोस्रो विकेटका लागि विल ज्याक्स र विराट कोहलीले ७४ बलमा १६६ रनको साझेदारी गरेका थिए ।

फाफ डु प्लेसिस १२ बलमा १ चौका र ३ छक्कासहित २४ रनमा आउट भए । गुजरातका साई किशोरले १ विकेट लिए ।

त्यसअघि अहमदावादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय रन बनाएको थियो । साई सुदर्शनले ४९ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८४ रन बनाए ।

शाहरुख खान ३० बलमा ३ चौका र ५ छक्कासहित ५८, ऋद्धिमान शाह ५, शुभमन गिल १६ र डेविड मिलरले २६ रन बनाए ।

बेंगलोरका स्वप्निल सिंह, मोहम्मद शिराज र ग्लेन म्याक्सवेलले १–१ विकेट लिए । बेंगलोर १० खेलमा ३ मा जित र ७ मा हारसहित ६ अंकका साथ पुछारमा छ । गुजरात ८ खेलमा ४ मा जित र ६ मा हारसहित ८ अंकका साथ सातौं स्थानमा छ । राजस्थान ९ खेलमा ८ मा जितका साथ १६ अंक जोड्दै शीर्षस्थानमा छ ।

सम्बन्धित् समाचार