गृहपृष्ठ Featured लुम्बिनी प्रदेशको लैंगिक अनुपात १०० महिलामा ९२ जना पुरुष

लुम्बिनी प्रदेशको लैंगिक अनुपात १०० महिलामा ९२ जना पुरुष

रुपन्देही ।

लुम्बिनी प्रदेशमा पुरुषभन्दा महिलाको जनसंख्या २ लाख १३ हजारले बढी छ । प्रदेशको कुल जनसंख्या ५१ लाख २२ हजार ७८ रहेकोमा पुरुष २४ लाख ५४ हजार ४०८ र महिला २६ लाख ६७ हजार ६७० रहेको छ । जसअनुसार प्रदेशको लैंगिक अनुपात १०० महिलामा ९२ जना पुरुष मात्र रहेका छन् ।

प्रदेशका सबै जिल्लामा महिलाको तुलनामा पुरुषको संख्या न्यून छ । प्यूठानको लैंगिक अनुपात सबैभन्दा कमजोर छ । यहाँ १०० महिलामा ८१.४३ जनामात्र पुरुष छन् । गुल्मीमा १००ः ८३.३१, अर्घाखाँचीमा १००ः८३.६७, पाल्पामा १००ः८५.२५, बर्दियामा १००ः८९.१५ र रोल्पामा १००ः८७.९५ लैंगिक अनुपात रहेका छन् ।

यसैगरी दाङमा १००ः९०.४५, रुकूमपूर्वमा १००ः९४.०१ नवलपरासीमा १००ः९४.७१, कपिलवस्तुमा १००ः९६.१, रुपन्देहीमा १००ः९६.३३ र बाँकेमा १००ः९६.८३ महिला र पुरुषको लैंगिक अनुपात रहेको छ । समग्रमा लुम्बिनी प्रदेशमा १०० महिला बराबर ९२.०१ जना पुरुष रहेका छन् ।

जन्मिँदा छोरा बढी

पछिल्लो समय अधिकांश जिल्लामा जन्मँदा छोराको संख्या धेरै देखिएको छ । तर, समग्रमा महिलाको संख्या २ लाख १३ हजारले बढी छ ।राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार प्रदेशका केही जिल्लामा छोराको अनुपातमा छोरीको जन्म आश्चर्यजनक ढंगले घटेको छ ।

जन्मँदा छोरा बढी देखिए पनि वास्तविक जनसंख्यामा महिला अधिक देखिएपछि स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधिलाई आश्चर्यमा पारेको छ ।

तथ्यांक कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी डा.हेमराज रेग्मीका अनुसार वैदेशिक रोजगारीमा जाने पुरुषहरु लुम्बिनीमा बढी भएकाले लैंगिक खाडल फराकिलो देखिएको छ । तर, कतिपय जिल्लामा १०० महिला हुँदा ८१ जनामात्र पुरुष हुनुले सामाजिक संरचना नै खलबलिने अवस्था आएको उनको भनाइ छ ।

‘लुम्बिनी प्रदेशको मात्र तथ्यांक केलाउने हो भने, जन्मंदा छोराहरु बढी देखिन्छन् तर वास्तविक जनसंख्यामा महिला बढी छन्’, डा.रेग्मीले भने ‘यसले जन्मंदाको लैंगिक अनुपातको भन्दा ठीक उल्टो दृश्य देखाएको छ ।’

जनगणनाको समयमा जो जो घरमा छन्, उनीहरुको तथ्यांकमा यहाँ समेटिएको र देश बाहिर हुनेको अलग्गै तथ्यांक निकालिएकोले पनि यस्तो दृश्य देखिएको रेग्मी बताउँछन् ।

एसिया फाण्डेसनका निर्देशक प्रणय स्थापितले आगामी वर्षको नीति र बजेट बनाउने पूर्वसन्ध्यामा आएको तथ्यांकले समावेशी र सबैलाई न्याय हुने नीति र बजेट निर्माण गर्न यसले सघाउने बताए ।

प्रदेश राजधानी देउखुरीमा सोमबार सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरुबीच भएको ‘लैंगिक खाडल’सम्बन्धीका छलफलमा विज्ञहरुले नीति, योजना र विकासमा जनसंख्या तथ्यांकको प्रयोगका विषयमा ध्यानाकर्षण गराएका थिए । उनीहरुले जन्मँदा नै छोराछोरीको अनुपातको खाडल झन् ठूलो देखिनुले भोलि समस्या निम्त्याउनेतर्फ सचेत गराए ।

राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख डा.रेग्मीले अर्घाखाँची जिल्लामा १०० छोरी जन्मँदा १२४ जना छोरा जन्मिएको जानकारी दिए ।

उनका अनुसार जन्मँदाको लैंगिक अनुपात पाल्पामा १००ः११३, बाँके र बर्दियामा १००ः११२, पश्चिम नवलपरासीमा १००ः१११, रुपन्देही, दाङ र रुकुमपूर्वमा १००ः११० देखिएको छ ।

प्यूठानमा १००ः१०९, गुल्मीमा १००ः१०८, कपिलवस्तुमा १००ः१०६ र रोल्पामा १००ः९७ देखिएको छ । प्रदेशमा रोल्पा अपवाद जिल्ला देखिएको छ । जहाँ छोराभन्दा छोरी बढी जन्मिएका छन् ।

‘यो तथ्याङ्क राष्ट्रिय जनगणना २०७८ ले देखाएको हो’, डा.रेग्मीले भने, ‘लैंगिक रुपमा यस्तो खाडल हुनुका धेरै अर्थ छन् । यसले समाजमा जनसांख्यिक असन्तुलन त ल्याउँछ नै । छोरी नजन्मँदै विभेदको शिकार भएका छन् भन्ने कुराको पुष्टि पनि यो तथ्याङ्कले गरेको छ ।’

उनका अनुसार गर्भपतनसम्बन्धी खुकुलो कानूनका कारण भ्रुण पहिचान गरेर छोरी भए गर्भपतन गराउने व्यापक प्रचलन बढेपछि जनसंख्यामा यस प्रकारको दृश्य देखिने गर्छ । नेपालमा औसत जन्मँदाको लैंगिक अनुपात १००ः११२ छ ।

भारत र चीनमा क्रमशः १००ः११२ र १००ः११८ छ । यसले दक्षिण एसिया नै छोरीको जन्मप्रति अनुदार हुँदै गएको पुष्टि हुने रेग्मी बताउँछन् । २०६८ सालको जनगणनामा जन्मँदाको लैंगिक अनुपात १००ः१०७ थियो । अहिले एक दशकपछि बढेर १००ः११२ पुगेको छ ।

सम्बन्धित् समाचार