कपिलवस्तु ।
जिल्लाको विजयनगर गाउँपालिकाले १५ शैय्याको अस्पताल निर्माण गरेको छ । सिंगो गाउँपालिकामा सुविधा सम्पन्न सरकारी अस्पताल थिएन । संघीय सरकारको सर्शत अनुदानबाट पालिकाले १५ शैयाको आधारभूत अस्पताल निर्माण गरेको हो ।
१८ करोड १६ लाख रुपैयाँ बराबरको लागतमा निर्माण भएको यो अस्पतालको पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही बैशाख २६ गते औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको पालिकाका अध्यक्ष गोपाल थापाले जानकारी दिए ।
अस्पताल परिसरमा एक पत्रकार सम्मेलन मार्फत अध्यक्ष थापाले उक्त जानकारी दिएका हुन् ।
केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला देशभरका पालिकामा १५ शैय्याको अस्पताल बनाउने गरी बजेट विनियोजन भएको थियो ।
शहरी क्षेत्रमा पालिका नबन्नु पूर्व नै सुविधा सम्पन्न सरकारी अस्पताल बनेका भएपनि, पछि बनेका ग्रामीण तहका अधिकांश पालिकामा अस्पताल थिएन । यही परिवेशमा विजयनगरले संघीय सरकारको आधारभूत अस्पताल बनाउने नीतिलाई अवलम्वन गरेको थियो ।
ओली सरकारले अगाडि बढाएको योजना आफूहरुले सम्पन्न गरेको र उहाँबाट नै अस्पतालको उद्घाटन गर्नुपर्छ भनेर कार्यक्रम राखिएको अध्यक्ष थापाले बताए ।