गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुको बुद्धभूमिमा महीको व्यवसायिक उत्पादन र बिक्रि सुुरु

कपिलवस्तुको बुद्धभूमिमा महीको व्यवसायिक उत्पादन र बिक्रि सुुरु

कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यवसायिक उत्पादन सुरु गरेको छ । उक्त उद्योगले वैैशाख पहिलो हप्तादेखि दैनिक एक हजार लिटर महीको व्यावसायिक उत्पादन र बिक्रि सुुरु गरेको हो ।

५० करोड लगानीमा ९ वर्ष अघि सञ्चालनमा आएको नेपालकै दोस्रो ठूलो डेरी उद्योगले नेपालमै पहिलोपटक बोतलिङ र लेभलिङ गरी महीको व्यवसायिक उत्पादन सुरु गरेको दाबी गरेको छ । उद्योगले एक लिटरको बोतलमा मही बजारमा ल्याएको छ ।

सुरुआती चरणमा कपिलवस्तुका २ वटा स्थानीय तहका बजार क्षेत्रमा दैनिक एक हजार लिटर मही बिक्रि भइरहेको उद्योगका सञ्चालक जनक न्यौपानेले बताए । ‘बुद्धभूमि’ ब्रान्डमा बजारमा आएको महीको उपभोक्ता मूल्य ५० रुपैयां कायम गरेको छ । बोतल र स्टिकरमा मात्र १५ रुपैयाँ खर्च भएकाले उद्योगको प्रतिबोतल लागत ४० रुपैयाँ रहेको न्यौपानेले बताए ।

अहिलेलाई उत्पादन गरेको ५ दिनसम्म मही उपभोगयोग्य हुने उद्योगले जनाएको छ । ‘दैनिक उत्पादन हुने एक हजार लिटर मही ५ दिन अगावै बिक्रि भएको छ, बजारबाट एकदमै राम्रो रेस्पोन्स आएको छ’, न्यौपानेले भने ।

बजारमा पाइने बहुराष्ट्रिय र अन्य कम्पनीका चिसो पेय पदार्थको विकल्पमा उपभोक्ताले महीलाई राम्रो भनेर सकारात्मक प्रतिक्रिया आएपछि उत्साहित भएको न्यौपानेले बताए ।

महीको बिक्रि वितरण प्रदेशभर र भविष्यमा देशभर गर्ने लक्ष्यसहित खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट महीको छुट्टै अनुज्ञापत्र लिने प्रक्रिया अघि बढेको र लगानी थपेर काम गर्न लागेको उद्योगका अध्यक्ष थानेश्वर न्यौपानेले बताए ।

सम्बन्धित् समाचार