गृहपृष्ठ कपिलवस्तु बिशेष बुद्धभूमिमा बालबालिकाका समस्या सुन्दै उपप्रमुख थारु

बुद्धभूमिमा बालबालिकाका समस्या सुन्दै उपप्रमुख थारु

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले बालबालिकासँग उपप्रमुख कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यालयमा देखिएका समस्यासँगै बालबालिकाले भोग्दै आएका व्यवहारिक कुरालाई नीतिगत रूपमा समाधान गर्ने उद्देश्यले नगरपालिकाले विद्यालयका बालबालिकासँग उपप्रमुख कार्यक्रम ल्याएको हो ।

बुद्धभूमि नगरपालिका– ८ स्थित श्री माध्यमिक विद्यलाय निमडाँडाबाट सञ्चालन गरिएको सो कार्यक्रमको मुख्य ध्येय बालबालिकाले विद्यालयमा भोग्दै आएका समस्या समाधान गर्ने, उनीहरूमा रहेको अन्तर्निहित क्षमताको पहिचान गरी बालबालिकालाई समग्र क्षेत्रमा सहभागी गराई सुन्दर भविष्य निर्माणमा योगदान गर्ने रहेको छ ।

सामुदायिक विद्यालयका बालबालिकासँग उपप्रमुख कार्यक्रममार्फत बालबालिकाहरूले भोग्दै आएका समस्या, स्थानीय सरकारप्रति बालबालिकाको अपेक्षा, विद्यालयमा देखिएका समस्याको नीतिगत तहबाट समाधान र बालबालिकाको मनोबल बढाउनु कार्यक्रमको उद्देश्य रहेको नगर उपप्रमुख मिरा थारुले बताईन् ।

स्थानीय सरकार नागरिकका घर नजिकको सरकार भएकाले आम नागरिकले भोग्दै आएका समस्याको पहिचान गरी नीतिगत तवरबाट समाधान गर्नु स्थानीय सरकारको प्रमुख दायित्व हुने उनको भनाइ छ । “स्थानीय सरकारसँग जनताका धेरै अपेक्षा छन् । बालबालिकाका समस्या सुन्न यो कार्यक्रम अघि बढाएका हौँ”, नगर उपप्रमुख थारुले भनिन् ।

कार्यक्रममा उपस्थित अधिकांश विद्यार्थीहरुले विद्यालयबाट गुणस्तरीय शिक्षा पाउनबाट आफूहरू बञ्चित हुनुपरेको बताए ।

बालबालिकाले विद्यालयमा नयाँ कुरा सिक्ने अवसरबाट आफूहरू बञ्चित हुनुपरेको गुनासो गर्दै यस्ता समस्या समाधानमा स्थानीय सरकारले थप चासो देखाउनुपर्ने आवश्यकता रहेको बताएका थिए ।

कक्षाकोठाको पर्याप्त अभाव, शौचालयको समस्या, शुद्ध पिउने पानी अभाव, नयाँ कुरा सिक्नलाई प्रयोगशाला अभावजस्ता समस्याको समाधान कहिलेसम्म भन्दै बालबालिकाले उपप्रमुखलाई प्रश्न गरेका थिए ।

बालबालिकाको प्रश्नको जवाफ दिँदै नगर उपप्रमुख थारुले बालबालिकाका समस्या समाधान गर्न नगरपालिका प्रतिवद्ध रहेको बताईन् ।

उनले विद्यालय तहदेखि बालबालिकालाई जागरूक गर्दै लैजान नगरपालिकाले बालबालिकासँग उपप्रमुख कार्यक्रम नीतिगत तहमा अघि बढाएको बताईन् ।

सम्बन्धित् समाचार