बुटवल ।
बुटवल उपमहानगरपालिकाले खसीबोकाको भनेर बाख्रीको मासु बिक्री गर्ने दुई वटा मासु पसललाई जरिवाना गरेको छ । शुक्रबार भएको अनुगमनका क्रममा खसीबोकाको भनेर बाख्रीको मासु बेच्ने गरेको र अनुमति नलिएको स्थानमा बध गर्ने गरेको फेला परेपछि प्रति मासु पसल १० हजार रुपैंयाँका दरले जरिवाना गराइएको हो ।
बुटवलको पुरानो बसपार्क नजिकैको न्यु-मेहेदी मासु पसल र बुटवल उपमहानगरपालिका–१ को पप्पु मासु पसलले मापदण्डविपरीत मासु पसल सञ्चालन गरेको फेला परेपछि जरिवाना गराएर व्यवस्थित गर्न एक हप्ताको समय दिइएको अनुगमन शाखा प्रमुख ठगिश्वर पोखरेलले बताए ।
उपप्रमुख सावित्रादेवी अर्यालको नेतृत्वमा गएको अनुगमन टोलीले मापदण्डविपरीत घरमा मासु बध स्थल बनाएको, खसीबोका भनेर बाख्रीको मासु बेच्ने गरेको र दुर्गन्ध फैलाएको भन्दै पहिलोपटक १०/१० हजार जरिवाना गराएको उनले बताए । अनुगमन समितिको बैठकले दुई मासु पसललाई व्यवस्थित गर्न सचेत गराउँदै एक हप्ताभित्र व्यवस्थित गर्न र तिनाउ पुलमुनिबाट पसल अन्यत्र सार्न निर्देशन दिने निर्णय गरेको छ ।
बुटवलमा मासु व्यवसायमा लापरबाही बढ्दै गएको र पशु बधशाला सञ्चालन र व्यवस्थापन ऐन अनुसार मासु पसल सञ्चालन हुनुपर्नेमा अटेरी गरिरहेकाले नियमित रुपमा अनुगमन गरिएको उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् ।








