दोस्रो टी–२० आई खेलमा बिहीबार घरेलु टोली अमेरिकाले टेस्ट टोली बंगलादेशलाई ६ रनले हरायो । ह्युस्टनमा रहेको प्रेरी भ्यू कम्पलेक्स मैदानमा १४५ रनको लक्ष्य पछ्याएको बंगलादेश १९.३ ओभरमा १३८ रनमा अल आउट भएको थियो ।
तीन टी–२० आई खेलको सिरिजमा पहिलो खेलमा अमेरिकाले बंगलादेशलाई ५ विकेटले हराएको थियो ।
बंगलादेशमाथि अमेरिकाको दुबै जितले नेपाल उत्साहित छ । त्यसको मुख्य कारण दुई सातापछि अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकप हो । समूह डी’मा नेपाल, नेदरल्यान्ड्स, बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका छन् । नेपालले शीर्ष दुईमा रहँदै सुपर–८ मा पुग्ने लक्ष्य राखेको छ ।
सुपर–८ मा पुग्न नेपालले कम्तीमा दुई खेल जित्नुपर्ने हुन्छ । अमेरिकाको नतिजाले बंगलादेशमाथि जित निकाल्न सक्ने नेपाली खेलाडीको आत्मविश्वास बढाएको छ । नेपालका कप्तान रोहित पौडेल आफूहरु कुनैपनि टोलीलाई हराउन सक्षम भएको बताउँछन् ।
‘बंगलादेशमाथि अमेरिकाको जित एसोसिएट क्रिकेटको लागि एकदमै राम्रो हो । अमेरिकाले बंगलादेशलाई हराएको छ । मनोबल बढाएको छ’, कप्तान रोहितले भने, ‘एउटा टिमको रुपमा सबै एरिया कभर गरेका हामीले कुनैपनि टोलीलाई हराउन सक्छौंजस्तो लाग्छ । तर खेलको दिन हामीले आफ्नो उत्कृष्ट दिनुपर्यो ।’
दुबै खेलमा हारपछि बंगलादेशका कप्तान सकिब अल हसन टी–२० मा सबै टोली बराबर बताउँछन् ।
‘टी–२० मा हरेक टोली बराबर छन् । मैले वेस्टइन्डिज ए’ र नेपालबीचको सिरिज हेरेको थिएँ । नेपालले साँच्चै राम्रो खेलेको थियो’, सकिबले भने, ‘टी–२० मा जे पनि हुनसक्छ । त्यो दिन कस्ले राम्रो प्रदर्शन गर्छ त्यसमा भरपर्छ । कसैलाई कमजोर आक्न सकिँदैन । १/ २ ओभरले खेलको मोमेन्टस् र पूरै खेलको सिनारियो परिवर्तन गर्दछ ।’
विश्वकपमा हरेक खेल हरेक टोलीलाई कठिन र दबाब पनि फरक हुने सकिब बताउँछन् ।
२ वर्षअघि आईसीसी विश्वकप लिग–२ खेल्न अमेरिका आउँदा नेपालले ह्युस्टन हरिकेन्ससँग दुई अभ्यास खेल खेलेको थियो । त्यो समय हरिकेन्ससँग नेपाल एक खेलमा पराजित र अर्कोमा विजयी भएको थियो । ह्युस्टन हरिकेन्ससँग नेपालले शुक्रबार र शनिबार दुई टी–२० अभ्यास खेल खेल्नेछ ।
नेपालले सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स (वेस्टइन्डिज) मा विनवार्ड्स भोलक्यानोजसँग ३ खेलको सिरिज २–१ ले जितेको थियो । नेपालले २७ मे मा क्यानडा र ३० मे मा अमेरिकासँग ग्राण्ड पे्ररी स्टेडियममा वार्मअप खेल खेल्नेछ ।
प्रेरी स्टेडियममै नेपालले विश्वकपमा आफ्नो पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ । रोहित २ अभ्यास खेलले विश्वकपमा फाइदा हुने बताउँछन् ।