काठमाडौं ।
बंगालको खाडीबाट उत्पन्न रेमल चक्रवातको अप्रत्यक्ष असर नेपालको पूर्वी भागमा देखिन थालेको छ ।
खासगरी कोशी प्रदेशका तराई भागका जिल्लाहरु मोरङ, झापा लगायतमा बदली र वर्षा भइरहेको छ । आज अपराह्नदेखि बागमती र गण्डकी प्रदेशका केही भागमा पनि हल्का वर्षाको सम्भावना छ ।
प्रि–मनसुन सिजनमा बंगालको खाडीमा उत्पन्न पहिलो चक्रवातको सीधा असर भने नेपालमा नपर्ने मौसमविदहरुले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार रेमल चक्रवातको नेपालमा अप्रत्यक्ष प्रभाव पर्ने छ । यसको अप्रत्यक्ष असरले सोमबार र मंगलबार नेपालका कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रहने मौसमविद झाले बताए ।
मौसमविद चिरञ्जिवी भेटवालका अनुसार रेमल चक्रवात नेपालको पूर्वी भूभागभन्दा बाहिर नै भएर बहने छ । यसको बाहिरी घेराका केही बादलमात्र नेपालसम्म आइपुग्ने छन् ।








