काठमाडौँ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालको कोरोनरी केयर युनिट (सीसीयू) मा भर्ना गरिएको छ । उनलाई मंगलबार नै जनकपुरको काव्या अस्पतालले थप उपचार तथा निदानका लागि मेडिसिटी अस्पताल रेफर गरेपछि एयरलिफ्ट गरेर दिउँसो काठमाडौं ल्याइएको थियो ।
अस्पताल ल्याइएसँगै उनको विभिन्न परीक्षण भएका थिए । त्यसमा केही समस्या देखिएपछि स्वास्थ्य निगरानीका लागि चिकित्सकहरूले सीसीयूमा भर्ना गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयको हिरासत नै रहेकाले उनको निगरानीका लागि हतियारसहित प्रहरी सीसीयू बाहिर नै खटिएको छ । प्रहरी हिरासतमै रहेका बेला शुक्रबार साँझ अचानक स्वास्थ्य बिग्रिएपछि उपचारका लागि उनलाई सुरुमा प्रदेशिक अस्पताल जनकपुर लगिएको थियो ।
उपकरण अभावमा त्यहाँ सम्पूर्ण उपचार तथा निदान नहुने भएपछि उनलाई प्रादेशिक अस्पतालले नै जनकपुरस्थित काव्या अस्पतालमा रेफर गरेको थियो । उनलाई दिउँसो करिब साढे तीन बजेतिर हेलिकोप्टरमार्फत मेडिसिटी अस्पताल ल्याइएको हो ।








