गृहपृष्ठ Featured ‘क्याच नछुटाएको भए सायद म्याच मोडिन सक्थ्यो’

‘क्याच नछुटाएको भए सायद म्याच मोडिन सक्थ्यो’

काठमाडौं ।

हुन त क्रिकेटमा ‘इफ र बट’ को कुनै अर्थ हुँदैन, तर हिजो नेदरल्यान्ड्सविरुद्धको खेलपछि नेपाली समर्थकहरूको दिमागमा एउटा प्रश्न घुमिरहेको छ । यदि दोस्रो इनिङको १७.२ ओभरमा नेदरल्यान्ड्सका ब्याट्सम्यान म्याक्स ओ डाउडलाई नेपालका कप्तान रोहित पौडेलले ड्रप नगरेको भए खेल कता मोडिन्थ्यो होला ? यसको जवाफ भने कहिल्यै प्राप्त हुनेवाला छैन किनकि क्रिकेटमा इफ र बटको कुनै अर्थ हुँदैन ।

हिजोको खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको हार व्यहोर्यो । नेदरल्यान्ड्सले ८ बल बाँकी छँदै लक्ष्य भेट्टाएको थियो । यो आँकडा मात्र हेर्दा नेदरल्यान्ड्सले सजिलै जित हात पारेको जस्तो महसुस हुन्छ । तर, यथार्थमा त्यस्तो थिएन । दोस्रो इनिङको १८ ओभर सकिँदासम्म खेल रोचक स्थितिमा थियो । नेपालका बलर मात्र होइन नेदरल्यान्ड्सका ब्याट्सम्यानहरुले पनि ‘हिट’ महसुस गरिरहेका थिए ।

१७ ओभरको खेल समाप्त हुँदा नेदरल्यान्ड्सले ४ विकेट क्षतिमा ८८ रन बनाएको थियो । जितका लागि १८ बलमा १९ रन चाहिन्थ्यो । ६ विकेट हातमा रहेको हुँदा नेदरल्यान्ड्सको हात माथि थियो नै । तर, स्लो पीचमा ब्याट्सम्यानहरुलाई रन बनाउन त्यति सहज भइरहेको थिएन । चौका र छक्काको खडेरी लागेको थियो भने एक रनका लागि पनि ब्याट्सम्यानले रिस्क लिएर दौडिनुपर्ने अवस्था नेपालका बलरले सिर्जना गरेका थिए । नेदरल्यान्ड्सको ब्याटिङ म्याक्स ओ डाउडमै बढी निर्भर थियो जो ४२ बलमा ४० रन बनाएर खेलिरहेका थिए ।

यदि डाउड आउट भएको भए खेलको मोमेन्टम सिफ्ट हुने पक्का थियो । नयाँ आउने ब्याट्सम्यानले खुलेर खेल्न सक्दैनथे । खेल अन्तिम ओभरसम्म जान सक्थ्यो र परिणाम जे पनि हुन सक्थ्यो । तर, यो सबै अनुमानका कुरा मात्र हुन् ।

डाउडले जीवनदान पाएपछि नेपाली बलरहरूको मनोबल गिर्‍यो । त्यस ओभरका बाँकी ४ बलमा नेदरल्यान्ड्सका ब्याट्सम्यानले चार रन दौडिएर लिए । त्यसपछि १९ औँ ओभरको पहिलो र दोस्रो बलमा डाउडले अविनाश बोहरालाई लगातार बलमा चौका र छक्का हान्दै नेपालको सम्भावना समाप्त गरिदिए ।

क्रिकेटमा स्थापित एउटा मान्यता छ– क्याचेज विन म्याचेज । अर्थात्, क्याचले नै खेल जिताउँछ । नेदरल्यान्डविरुद्ध नेपाल यसमै चुक्यो । अत्यन्त महत्त्वपूर्ण क्याच नेपालले छुटायो । नेपालले तीन पटक क्याच ड्रप गरेको थियो । त्यसमध्ये पनि रोहितले छुटाएको क्याचले सबैभन्दा बेसी पिरोलेको छ ।

स्वयम् रोहित पनि चुक्चुकाइरहेका छन् । उनले म्याचपछिको प्रिजेन्टेसनमा भने, ‘सायद मैले त्यो क्याच नछुटाएको भए खेल हाम्रो पक्षमा मोडिन पनि सक्थ्यो ।’

रोहित नेपालका उत्कृष्ट फिल्डर हुन् । उनी प्राय क्याच मिस गर्दैनन् । अप्ठेरा क्याच पनि सजिलो तरिकाले लिन्छन् । तर, हिजो सायद उनलाई पनि खेलको प्रेसरले थिच्यो । लङअफमा रहेका रोहितले हातमा आइसकेको बल भुईँमा खसाए । अन्तर्राष्ट्रिय क्रिकेटमा यत्तिको क्याच सामान्य मानिन्छ ।

सम्बन्धित् समाचार