काठमाडौँ ।
युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा शुक्रबार बिहान दुई महारथी स्पेन र इटालीबिच भिडन्त हुनेछ । विश्व फुटबलका यी दुई हस्ती राष्ट्रबिचको खेल नेपाली समयअनुसार, बिहान ००ः४५ बजे सुरु हुनेछ ।
त्यसअघि बिहीबार युरोकपका थप दुई खेल हुनेछन् । बिहीबार साँझ १८ः४५ बजे स्लोभानियाले सर्बियाको सामना गर्नेछ । त्यसलगत्तै बिहीबार राति २१ः४५ बजे नकआउट चरणमा पुग्न आतुर इङ्गल्यान्ड र डेनमार्कबिच भिडन्त हुनेछ ।
जारी युरोकपमा स्पेन र इटाली समूह ‘बी’ मा छन् । क्रोएसिया र तुलनात्मक रूपमा कमजोर अल्बानिया पनि सोही समूहमा रहेका छन् । पहिलो खेलमा विजयी भएका यी दुवै टोली युरोकपको नकआउट चरणमा पुग्न आतुर देखिन्छन् ।
समूह ‘बी’ मा स्पेन र इटालीले एक–एक तथा क्रोएसिया र अल्बानियाले दुई–दुई खेल खेलेका छन् । तालिकामा तीन अंकसहित स्पेन पहिलो र समान अङ्क बटुलेको इटाली दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा आसीन अल्बानिया र चौथो स्थानमा रहेको क्रोएसियाले एक–एक अङ्क जोडेका छन् ।