वैखरी अनलाईन, बाणगंगा ।
बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले आफ्नो टेबलमा एक मिनेट पनि फाईल नरोकिने बताएका छन् ।
आफुले आवश्यक कागजात मिलेको अवस्थामा फाईल अघि बढाउने र नमिलेको भए फिर्ता पठाउने गरेको उनले बताए । प्रमुख प्रशासकिय अधिकृत पन्थीले शुक्रबार बुद्धभूमि नगरपालिका वडा नं.८ को सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
सेवाग्राहीलाई जति सक्दो छिटो छरितो तवरबाट सेवा दिन नगरपालिका प्रतिवद्ध रहेको उनले बताए । उनले सो क्रममा प्रशासनिक कामकारबाही र योजना कार्यान्वयनको पाटोबारे प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले प्रष्ट पारेका थिए । उनले बुद्धभूमि नगरपालिकामा कर्मचारी अभाव रहेकाले सेवा प्रवाहमा केही कठिनाई उत्पन्न भएको बताए ।
एउटै कर्मचारीले ५ वटा सम्म शाखाको कामकारबाही हेर्नुपर्ने बाध्यता रहेको उनले सुनाए । उनले यो समस्या अधिकांश स्थानीय तहले भोग्दै आएको बताए । उनले आफु आएपछि नगरपालिकाबाट प्रवाह हुने सेवा सुविधा कुनै समय पनि नरोकिएको बताए ।








