कोपा अमेरिका फुटबलअन्तर्गत समूह ‘डी’को आफ्नो पहिलो खेलमा ब्राजिल कोस्टारिकासँग बराबरीमा रोकिएको छ। मंगलबार बिहान भएको खेलमा उपाधि दावेदार ब्राजिल पहिलो खेलमै कोस्टारिकासँग गोलरहित बराबरीमा रोकिएको हो।
अमेरिकाको लस एन्जेलसस्थित सोफाइ रंगशालामा सम्पन्न खेलमा बराबरीसँगै दुबै टिमले १-१ अंक बाँडे। कोस्टारिकाविरुद्ध निरन्तर आक्रमण गरेपनि ब्राजिलले बललाई जाली चुमाउन भने सकेन।
पहिलो हाफमा मार्किन्हसले गोल गरे पनि भिएआरले उक्त गोललाई अमान्य घोषित गर्याे। त्यसपछि पनि ब्राजिलले निरन्तर खेल पकडमा राख्दै आक्रमण गरेपनि गोल गर्न भने सकेन। दोस्रो हाफमा लुकास पाक्वेटाको प्रहारमा पोलमा लाग्दा ब्राजिल अर्को एउटा गोलको मौकाबाट विमुख भयो।
त्यसअघि समूह ‘डी’ कै खेलमा कोलोम्बियाले पाराग्वेलाई २-१ ले हराउँदै तीन अंकसहित तालिकाको शीर्ष स्थानमा रह्यो। कोलोम्बियाले पहिलो हाफमै ड्यानिएल मुनोज र जेफर्सन लार्माको गोलमा २-० को अग्रता लिएको थियो। दोस्रो हाफमा जुलिओ एन्सिजोले गोल फर्काएपनि टिमको हार टार्न पर्याप्त भएन।
समूहमा कोलोम्बियाको ३ अंक भएको छ। ब्राजिल र कोस्टारिकाको १-१ अंक तथा पाराग्वे बिना अंक पुछारमा छ। कोपा अमेरिकाअन्तर्गत बुधबार समूह ‘ए’ को दोस्रो खेलमा पेरुले क्यानडा तथा चिलीले अर्जेन्टिनाको सामना गर्ने छ।








