रुपन्देही ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा अवैध रुपमा म्यानपावर व्यवसाय सञ्चालन गर्ने दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । प्रहरीले उक्त म्यानपावर कम्पनीमा शीलसमेत गरेको छ ।
एक हप्ता अगाडि भारत मुम्बईका २४ वर्षीय निर्सग रवीन्द्र राणे र ३७ वर्षीय जावेद मसिहले उक्त म्यानपावर सञ्चालनमा ल्याएका थिए ।
पछिल्लो समय विनादर्ता अवैध रुपमा म्यानपावर सञ्चालन गर्ने र एजेन्ट बनाएर मानिसलाई प्रलोभनमा पार्ने काम बढ्दै गएको छ । चालू आर्थिक वर्षमा मात्रै ४ वटा त्यस्ता म्यानपावर कम्पनीलाई कारबाही गरिएको श्रम तथा रोजगार कार्यालय बुटवलका अधिकृत केशवराज भट्टराईले जानकारी दिए ।
विनादर्ता रसिया, अस्ट्रेलिया, इटलीलगायतका देशमा कामदार पठाउने भन्दै घर भाडामा लिएर उनीहरुले म्यानपावर व्यवसाय सञ्चालन गर्दै आएका थिए । प्रहरीले उनीहरुको साथबाट मोबाइल, ल्यापटप, भारतीय आधार कार्ड, चेकबुक, डेभिड कार्डलगायत बरामद भएको जनाएको छ ।








