भैरहवा ।
भैरहवाको गल्लामण्डीबाट ठूलो परिमाणमा चिनी र केराउ मटर बरामद भएको छ। भन्सार छलेर भित्राइएको आशंकामा भैरहवा भन्सार कार्यालयले भैरहवाको खाद्यान्न बजार गल्लामण्डीबाट चिनी र केराउ मटर बरामद गरेको हो।
गल्लामण्डीको सुगर मिल क्षेत्र स्थित ट्रकमा लोड गरिरहेको अवस्थामा ५ लाख ७४ हजार रुपैयाँ बराबरको एक सय तीस बोरा (६५०० किलो) चिनी र ६८ बोरा (१७०० किलो) केराउ मटर बरामद गरिएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए। साथै, प्र २०३००१ ख ०७०५ नम्बर ट्रक समेत नियन्त्रणमा लिएको र ट्रक चालक फरार भएको उनले बताए।
भैरहवा भन्सार कार्यालय प्रमुख गौतम आएपछि कार्यालयले अभियान नै चलाएर तीव्र रूपमा भन्सार छलेर भित्राइएका सामग्रीहरू नियन्त्रण लिइरहेको छ। भन्सार छलेर निर्यात गर्न लागिएको र आयात गरिएको अवस्थामा प्रयोग भएको गाडी तथा मानिससहित टुथपेस्ट, चामल, प्याज, लत्ताकपडा लगायतका सामग्रीहरू बरामद गर्ने क्रम जारी रहेको भन्सार कार्यालयले जनाएको छ।








