त्रिशूली नदीमा खसेको बसमा रहेका एक यात्रुको शव फेला परेको छ।
शनिबार बिहान भरतपुर महानगरपालिका- २८ गोलाघाटस्थित नारायणी नदी किनारमा एक पुरूषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए।
मृत भेटिएका युवक ऋषिपाल साह रहेको डिएसपी रिजालले जानकारी दिए।
मृतक घोप्टो परेको र आधा शरीर बालुवामा गाडिएको अवस्थामा भेटिएका छन्।
उनको साथमा भेटिएको ग्लोबल आइएमई बैंकको भिसा डेविट कार्डबाट नाम खुलेको हो। उनी कुन गाडीमा सवार थिए भन्ने खुलेको छैन।
शनिबार बिहान सिमलतालबाट सुरक्षाकर्मीहरूले बेपत्ता गाडी र शव खोजी सुरू गर्दा त्यहाँ बेपत्ता भएकाहरूका आफन्त जम्मा भएका थिए।
गोलाघाटमा एकजनाको शव भेटिएको र मृतक ऋषि पाल साह रहेको जानकारी गराएपछि त्यहाँ उपस्थित बेपत्ता भएकाहरूका आफन्तमध्येका एक युवक ऋषि आफ्नो दाइ रहेको बताउँदै गोलाघाटतर्फ गएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले मुचुल्का गरेर शव जिल्ला अस्पताल भरतपुर लगेको छ।








