पाल्पा ।
तानसेन नगरपालिका–९ का केशव दर्लामीको ५ रोपनी खेत तिनाउको बाढीले पुरेपछि अन्नको जोहो कसरी गर्ने चिन्तित छन् । तिनाउ खोलाले भंगालो पारेर बाढी पस्दा गग्रेटो र बालुवाले भरिएको छ ।
‘असारको तेस्रो साता आएको बाढीले सखापै पारेको छ,’ उनले गुनासो गरे, ‘झण्डै दुई हात बालुवाले पुरेकाले कसरी खेत बनाउने भन्नेमा चिन्ता छ ।’
तानसेन–९ कै दिनेश बस्यालको पनि ५ रोपनी खेतमा भर्खरै रोपेको धान पुरिएको छ । तिनाउको बाढीले पाल्पाको अन्न भण्डार माडी क्षेत्रमा कम्तीमा ५ सय बढी रोपनीमा केही दिनअघि मात्र लगाएको धान बगरमा परिणत गराएको छ ।
भर्खर रोपेको धानमा बाढी पसेपछि चिन्तित छन् । बगनासकाली–२ र माथागढी–३ को सीमाना लालपाटी नजिकैबाट तिनाउको बाढी खेततर्फ सोझिएको छ । बाढीले माथागढी–३, बगनासकाली–१ र २ तथा तानसेन खोलाले बगनासकाली–१, तानसेन–९ का किसानले लगाएको धानखेत पुरेर बगर बनाएको हो ।








