धनकुटा ।
चौबीसे गाउँपालिका–३ कुरुलेतेनुपाको शिरमा पर्छ बन्दुकेडाँडा। भौगोलिक बनावटको हिसावले बन्दुकेडाँडा उचाइमा भएकाले यहाँ सिँचाइका लागि मात्र होइन पिउनका लागि पनि खानेपानीको धेरै समस्या छ। बन्दुकेडाँडा सुक्खा ग्रस्त क्षेत्र हो।
बन्दुकेडाँडासहित कुरुले तेनुपामा कुनै बेला बाक्लो बस्ती थियो। २०४५ सालको भूकम्पपछि यस क्षेत्रका अधिकांश खानेपानीका मुहान सुक्न थाले। खानेपानी समस्याकै कारण यहाँका स्थानीय बसाइँ सर्न थाले। बस्ती रित्तिँदै गयो। बसाइँसराइले सिंगो गाउँ नै उजाड बनाएको थियो।
लटरम्म फलेको स्याउ हेर्न स्थानीय मात्र होइन टाढाबाट मान्छेहरू आउने गर्छन्। उजाड ठाउँलाई उब्जाउ बनाउने उद्देश्यले स्थानीय बासिन्दाको संलग्नतामा तमोर पर्माकल्चर सिकाइ थलो स्थापना गरी वर्षाको पानी संकलन गर्दै स्याउ खेती सुरु गरियो।
पाँच वर्षअघि रोपिएको स्याउको बोटमा गत वर्षदेखि फल लाग्न थालेको छ। करिब १ सय १५ रोपनी क्षेत्रफलमा ३५ प्रजातिका फलफूल खेती गरिएको व्यवस्थापक भोजकुमार काफ्लेले बताए। विभिन्न फलफूलका १२ सय बोटबिरुवामध्ये ३ सय ५० भन्दा बढी डोसेट, आन्ना प्रजातिका स्याउका बोट छन्। यी प्रजाति पहाडी क्षेत्रका हावापानीसँग मिल्दो स्याउका प्रजाति हुन्।