गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगाले संकलन गर्‍यो लक्ष्यको ९७.२७ प्रतिशत राजस्व

बाणगंगाले संकलन गर्‍यो लक्ष्यको ९७.२७ प्रतिशत राजस्व

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा ९७.२७ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

नगरपालिकाको राजस्व शाखाका प्रमुख मदन प्रसाद घिमिरेका अनुसार आव २०८०/८१ मा नगरपालिकाले ५ करोड ८३ लाख ५५ हजार ३८० रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गरेको छ । ‘सम्पन्न आर्थिक वर्षको वार्षिक लक्ष्यअनुसार रु ६ करोड राजस्व सङ्कलन हुन्छ भन्ने थियो, लक्ष्यको ९७.२७ प्रतिशत राजस्व सङ्कलन गर्न नगरपालिका सफल भएको छ,’ उनले भने ।

चालु आव २०८१/८२ मा आन्तरिक राजस्व संकलनको परिणाम थप बढाउने लक्ष्यसहित आफुहरु अघि बढेको उनले बताए । यस आवमा नगरपालिकाले झण्डै १० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । बाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटको ८२.७४ प्रतिशत अर्थात् १ अर्ब ७ करोड ३२ हजार ११२ रुपैयाँ खर्च गरेको छ ।

नगरपालिकाका सूचना प्रविधि अधिकृत मिलन पोख्रेलले दिएको तथ्याङ्क अनुसार नगरपालिकाले चालुतर्फ ८५.५३ प्रतिशत अर्थात् ६२ करोड ५२ लाख ४२ हजार ६५५ रुपैयाँ र पुँजीगत तर्फ ७८.९८ प्रतिशत अर्थात् ४३ करोड ४७ लाख ८९ हजार ४५७ रुपैयाँ खर्च गरेको छ ।

चालु आवमा बाणगंगा नगरपालिकाले १ अर्ब २९ करोड ३१ लाख ४० हजार ४३३ रुपैयाँको बजेट ल्याएको थियो ।

सम्बन्धित् समाचार