कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका- २ बक्डरियास्थित वन क्षेत्रमा अतिक्रमण गरेर बनाइएका ८ घरगोठ हटाइएका छन्। ४ दशकदेखि वन क्षेत्रमा रहेका एक पक्की घरसहित ८ घरगोठ एक्साभेटर प्रयोग गरी हटाइएको हो।
अतिक्रमणमा रहेको १० हेक्टर क्षेत्र खाली गराइएको छ। सो अतिक्रमण गरिएको क्षेत्र खाली गराउन पटकपकट सूचना जारी गर्दा समेत अटेर गरिए पछि बल प्रयोग गरेर डिभिजन वन कार्यालयको अगुवाईमा रहेको टोलीले सो क्षेत्र खाली गराएको हो।
वन रक्षक, कर्मचारी, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली सहीत पुगेका टोलीलाई वन अतिक्रमणकारीले अवरोध समेत गर्ने प्रयास गरेका थिए। ‘हामीले पटक पकट अल्टीमेटम दिँदा समेत वन क्षेत्र खाली गर्न आनाकानी गरेपछि बल प्रयोग गरिएको हो’ डिभिजन प्रमखु बिजयराज सुवेदीले भने।
उनले वन क्षेत्र अतिक्रमण हटाउने कामलाई तीव्रता दिएको बताए। वक्डरीयामा रहेको १० हेक्टर अतिक्रमण हटाई तारवार गरी वृक्षरोपण गरिएको उनले बताए।
उनले पछिल्लो २ महिनामा ५ सय २२ हेक्टर वन अतिक्रमण हटाइएको बताए।
वाणगंगा नगरपालिकाको पटना क्षेत्रमा रहेको मायादेवी साझेदारी वनको ५ सय हेक्टर र सब डिभिजन वन कार्यालय वडहराले २२ हेक्टर वन क्षेत्रको अतिक्रमण हटाएको छ।








