काठमाडौँ ।
नारायणगढ–बुटवल सडक विस्तार थालेको ६ वर्ष भयो । अझै काम सकिएको छैन । अहिले दाउन्ने खण्डमा बर्खाले गर्दा हिलो र लेदोका कारण सवारी चलाउन समस्या छ । विस्तार गर्न सडक छेउका पहरो भत्काइँदा चोरमारा खण्डमा हिलोका कारण सवारीसाधन चिप्लने गरेका छन् ।
अहिले बढी समस्या यही खण्डमा छ । पानी पर्नासाथ हिलोले गर्दा यो खण्डमा सवारीसाधन ओहोदोहर गर्न हम्मेहम्मे पर्ने गरेको छ ।
उक्त सडकको विस्तार ०७५ चैत ८ मा सुरु भएको हो । तर समग्रमा प्रगति सोचेअनुरूप छैन । अहिलेसम्म निर्माण प्रगति ५३ प्रतिशत मात्र छ । ११३ किलोमिटर सडक विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । पटकपटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले काम सकेका छैनन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाका विभिन्न समिति सभापति नेतृत्वको टोलीले पटक-पटक अनुगमन गरेर छिटो काम सक्न निर्देशन दिए पनि कामको गति बढ्न सकेको छैन । भौतिक मन्त्री फेरिए पिच्छे यो सडकको अनुगमनमा पुगेर काम सक्न निर्देशन दिए पनि निर्माण व्यवसायीले सुने नसुनेझैं गर्ने गरेका छन् ।
दोस्रो पटक थपेको म्याद मंगलबार सकिँदै छ । फेरि म्याद थप गर्नेबारे छलफल भइरहे पनि निर्णय भइनसकेको आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख चूडाराज ढकालले बताए ।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडकको स्तरोन्नति थालिएको हो ।








