रुपन्देही ।
रुपन्देहीको कन्चन गाउँपालिका- २ स्थित गजेडी माध्यमिक विद्यालयले आफ्नो विद्यालयको नाम जोडेर सामाजिक सन्जालमा गलत सन्देश दिने गरी कुप्रचार गरिएकोमा आपत्ति जनाउँदै यस्तो गलत कामलाई निरन्तरता दिए कारबाही गर्ने चेतावनी दिएको छ ।
विद्यालयको बदनाम हुनेगरी सामाजिक सन्जालमा अन्य विद्यालयका विद्यार्थीले चुरोट पिएको, गाजा तानेको फोटाहरु राखेर अभिभावक तथा विद्यार्थी एवम् आम शुभेच्छुकहरुलाई गलत सन्देश दिइएको प्राचार्य रेशमा जोशी वाग्लेले बताइन् ।
बालकक्षादेखि १२ कक्षासम्म अध्ययन हुने यो विद्यालयमा भर्ना हुने समयमा यस्ता खालका दुस्पचार हुने उनको भनाइ छ ।
सामाजिक सन्जालमा अन्यत्रका विद्यार्थीले चुरोट तानेको, गाँजा तानेको फोटा खोजेर, विद्यालयको बोर्डसहितको फोटा राखेर नामअनुसारको काम, यस्तो छ विद्यालयको नामलगायतका विषय राखेर पोष्ट भइरहेपछि विद्यालय प्रशासनले आपत्ति जनाउँदै कारबाहीको माग गरेको हो ।
विद्यालयले सार्वजनिक रुपमै विज्ञप्ती जारी गरेर यस्तो अनर्गल प्रचारको पछि नलाग्न र विद्यालयका नामको ऐतिहासिकता बुझ्नका लागि आग्रह गरेको छ ।









