गृहपृष्ठ Featured लुम्बिनीमा सरकार गठन : कांग्रेस-एमाले सांसदहरुबीच तीव्र विवाद

लुम्बिनीमा सरकार गठन : कांग्रेस-एमाले सांसदहरुबीच तीव्र विवाद

रुपन्देही ।

लुम्बिनीमा सरकारको नेतृत्व र मन्त्री छनौटका विषयमा सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरुबीच तीव्र विवाद देखिएको छ ।

एमाले कांग्रेसको समर्थनमा सोमबार एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए भने बुधबार दुवै पार्टीबाट चार चार जना मन्त्रीले शपथ लिएका छन् ।

तर,सरकारको नेतृत्व र मन्त्री छनौटकाे विषयलाई लिएर अहिले दुवै पार्टीमा खैलाबैला भएको छ । दुवै पार्टीमा रहेका नेतापिच्छेका समूहले अर्को समूहलाई नेतृत्व र छनौटका विषयमा आलोचना गर्न थालेका छन् ।

एमाले संसदीय दलका उपनेता नेकपा एमालेका चेतनारायण आचार्यको नेतृत्वमा सरकार गठन गर्ने पार्टी केन्द्रको निर्देशनपछि संसदीय दलका नेता लिला गिरी र उनको समूह असन्तुष्ट बनेको छ ।

आफ्नै पार्टीका नेता आचार्यको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दावी पेश गर्न सोमबार उनी प्रदेश प्रमुखकोमा गएनन् भने बुधबारको शपथ ग्रहणमा पनि सहभागिता जनाएनन् । दावी पेश गर्ने पत्रमा सबै सांसदको हस्ताक्षर भएपनि पेश गर्ने समय र शपथमा पनि अधिकांश उनी निकटका सांसदहरुको सहभागिता रहेको थिएन ।

पार्टी नेतृत्वले आफूलाई कुनै सूचना नदिई विधि र पद्धति मिचेर उपनेतालाई नेतृत्वमा पठाएको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै असन्तुष्टि जनाएका थिए ।

एमालेले यसअघि पनि प्रदेशको नेतृत्वको विषयमा केन्द्रबाट नै निर्णय गर्ने गरेकाले अहिले पनि त्यसै गरिएको तर त्यसको विषय प्रदेश कमिटी र सम्बन्धित व्यक्तिलाई जानकारी समयमा दिन नसक्दा नै समस्या भएको एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल बताउँछन् ।

उनले संसदीय दलको नेताबाट राजीनामा दिएका छन्। प्रमुख सचेतक तुलसी चौधरीले पनि दलको नेताले राजीनामा दिएपछि आफूनो पद पनि स्तहः जाने कानुनी व्यवस्था रहेको बताए ।

संसदीय दलका नेता तथा पार्टी पोलिटब्युरो सदस्य लिला गिरी र उपनेता तथा केन्द्रीय सदस्य चेतनारायण आचार्य दुवैले मुख्यमन्त्री दावेदारी गरेका थिए । गिरीलाई रोकेर संसदीय दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउन पार्टी केन्द्रबाट निर्देशन आएपछि गिरी पक्षका नेता तथा कार्यकर्ताहरूमा असन्तुष्टि देखिएको हो।

सम्बन्धित् समाचार